प्रदेश प्रमुखलाई माधव नेपालले मान्दिनँ भन्नुभएको छैनः अध्यक्ष प्रचण्ड

प्रदेश प्रमुखलाई माधव नेपालले मान्दिनँ भन्नुभएको छैनः अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्नु स्वभाविक नै भएको बताएका छन् ।

पार्टी कार्यक्रममा सहभागी हुन मंगलबार बाँके पुगेका प्रचण्डले सोमबारको सचिवालय बैठकमा नेता नेपालले आफ्नातर्फबाट प्रदेश प्रमुखका लागि नाम प्रस्ताव गरे पनि नपरेपछि नोट अफ डिसेन्ट लेख्नु स्वभाविक नै भएको बताएका हुन् ।

‘माधवजीले एक–दुई जनाको नाम पारौं भन्ने जोड दिनुभएको थियो । बैठकले त्यो निर्णय गरेन । उहाँलाई चित्त नबुझेपछि नोट अफ डिसेन्ट लेख्ने कुरा पनि सामान्य र स्वभाविक प्रक्रिया हो,’ प्रचण्डले भने।

नयाँ नियुक्त प्रदेश प्रमुखलाई नेता नेपालले मान्दिनँ नभनेको उल्लेख गर्दै प्रचण्डले थपे, ‘उहाँले म मान्दिनँ भन्नुभएको छैन, मेरो भिन्न मत राख्छु भन्नुभएको छ ।’

सोमबारको सचिवालय बैठकमा नेता नेपालले प्रदेश प्रमुख छान्दा एकलौटी निर्णय भएको र मापदण्ड नपुगेकालाई सिफारिस गरिएको भन्दै नोट अफ डिसेन्ट लेखेका थिए ।

प्रदेश प्रमुख निकालेर नयाँ नियुक्त गर्न पार्टी्भित्र र सत्तारूढ समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि आफूले छलफल गरेको प्रचण्डले बताए ।

सरकार परिवर्तनपछि प्रदेश प्रमुख नियुक्ति हुनु स्वभाविक नै हुने उनले बताए ।

‘प्रदेश प्रमुख भनेको सरकारको प्रतिनिधिको रूपमा काम गर्ने हो,’ प्रचण्डले भने, ‘सरकार परिवर्तन भएपछि प्रदेश प्रमुख फेरिन्छ । हाम्रो सरकार उदार भएकोले दुई वर्षसम्म काम गर्न दिएको हो ।’

प्रदेश प्रमुख हटाउने र नयाँ राख्ने प्रक्रिया ठूलो नभएको र सरकारकै क्षेत्राधिकारको कुरा भएको उनले बताए ।

उनले प्रदेश ५ को राजधानीका विषयमा सबैलाई सुविधा हुने गरी ठाउँ तय हुने पनि बताए ।

‘जनताको हितलाई हेरेर राजधानीको टुंगो लगाउनुपर्छ । त्यस्तो सेन्टर जुन नयाँ बजार बनाउन पनि सकिन्छ । पूरानै सहरमा बनाउनुपर्छ भन्ने पनि छैन,’ उनले भने ।