काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो । उक्त भेटवार्तामा उनीहरुबीच समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।
त्यस्तै आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग विश्वासको मत मागेका छन् । आज युवा संघ नेपालले आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै माधव नेपालले अहिले नै सरकारबारे बोल्न हतार नभएको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिनेबारे उनले गरेको काम अनुसार निर्णय गर्ने दावी गरे । त्यस्तै अध्यक्ष नेपालले अहिले नै सरकारबारे बोल्न हतार नभएको बताए । ‘हामी अगाडि सरेर बोल्न के हतार ? हामीलाई के बित्दो छ र ? २६ गते विश्वासको मत लिने हो । त्यही दिन निर्णय लिए पुगेन ? त्यतिन्जेल सस्पेन्समै रहोस् । अनुहार हेरेर विश्वासको मत दिने होइन, काम हेरेर हो दिने’, उनले भने ।
माधव नेपालले उक्त अभिव्यक्ति दिएको केही समयमै उनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिँदैछन्।




प्रतिक्रिया