पोखरा – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गण्डकी प्रदेश सरकारमा पार्टीलाई मन्त्री पद नदिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
समाजवादी प्रेस संगठन नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गण्डकीमा एकीकृत समाजवादीलाई मन्त्रिपरिषद्मा सहभागी नगराएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहमतिको पालना नगरेको बताए ।
पार्टीलाई मन्त्रिपरिषद्मा सामेल गराउने विषयमा शीर्ष नेताहरूसँग थप कुराकानी गर्ने उनले बताए ।
देशको अर्थतन्त्रमा देखिएको संकटका कारण प्रभावित बनेका व्यवसायी र ऋणीलाई सरकारले सहुलियत दिने कार्यक्रम ल्याउनुपर्ने उनले बताए । उनले भने, ‘विभिन्न कारणले धेरै व्यवसायीको हालत खराब भएको छ । ऋणको ब्याज बढेको छ । ऋण तिर्न नसकेर गम्भीर संकटमा परेका व्यवसायीलाई ऋण चुक्ता गर्ने समय बढाएर हुन्छ वा ब्याजदर घटाएर हुन्छ राहत तथा लगानीकर्ता र ऋणीलाई सहुलियत दिनेबारे सरकारले सोच्नुपर्छ ।’
अध्यक्ष नेपालले जनताका पीडा समाधान गर्ने गरी सरकारले काम गर्नुपर्ने बताए । एकीकृत समाजवादी चुनौती सामना गर्ने आँट राखेर सबै शक्तिलाई एकताबद्ध बनाएर अघि बढिरहेको उनले बताए । ‘हामी कसैप्रति आग्रह पूर्वाग्रह राख्दैनौं । हाम्रो निम्ति राष्ट्र र जनता नै मूल कुरा हुन् । राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको प्रवर्द्धन र स्वाभिमानको रक्षा हाम्रो निम्ति मुख्य कुरा हुन्,’ उनले भने ।
केन्द्रीय, प्रदेश र स्थानीय सरकारले विकासको प्राथमिकता तोकेर त्यही अनुरूप काम गर्नुपर्ने उनले बताए ।




प्रतिक्रिया