काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले भदौ २४ गतेको घटनामा तोडफोड गर्ने तोडफोडकारीको पहिचान भए पनि कारबाही नभएको बताएका छन् ।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले २४ गतेको घटना अत्यन्तै आपत्तिजनक भएपनि त्यो घटनामा सहभागि मानिसको पहिचान भए पनि कारबाही नहुनु झन् बढी गम्भीर विषय भएको बताए ।
उनले यस्तो कामले सरकारमाथि पनि प्रश्न खडा भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका छन् ।
उनले भने, ‘२४ गतेको घटना जुन भएको छ । त्यो अत्यन्तै आपत्तिजनक र दण्डनीय छ । म प्रधानमन्त्रीलाई भन्न चाहन्छु, त्यसप्रति सरकार गम्भीर देखिएन, उदार देखिएको छ । यो उदार देखिनु धेरै नै गम्भीर कुरा पनि हो । भिडियोले देखाइरहेको छ, तोडफोड गर्ने तोडफोडकारी को–को हुन् ? थाहा भइरहेको छ तर गिरफ्तार हँुदैनन्, दण्डित हुँदैनन् । चोरी गरेर लगेर राखेको छ, चोरीको सामान देखिएको छ तर त्यसलाई कुनै सजाय दिइँदैन ।’
दुईतिहाइ सरकार छ भनेर स्थायित्व आयो भन्ने अवस्था पनि नरहेको भन्दै यसले घमण्डी नेताहरू, सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिको विकास र नीतिको निरन्तरतामा समस्या खडा गर्ने प्रवृत्ति बढ्ने उनले बताए ।
वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्ने कुराको साथै केही संरचनाहरूमा सुधारमा समय दिनुपर्ने रहेको पनि उनको भनाइ छ ।




प्रतिक्रिया