रौतहट–१ : पूर्वप्रधानमन्त्री नेपाल र एमालेका गुप्ताको उम्मेदवारी दर्ता

रौतहट–१ : पूर्वप्रधानमन्त्री नेपाल र एमालेका गुप्ताको उम्मेदवारी दर्ता


रौतहट – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा मुख्य राजनीतिक दलका उम्मेदवारहरूले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् ।

मंगलबार गौरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेकपा एमालेका अजयकुमार गुप्तासहितका नेताहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधवकुमार नेपालले पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूको ठूलो र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र बुझाएका छन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले देशको आर्थिक–सामाजिक रूपान्तरण र प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षाका लागि आफूले उम्मेदवारी दिएको बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताले पनि दलबलसहित उम्मेदवारी दर्ता गराएका छन । उनले यस क्षेत्रको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन् ।

नेपाल सद्भावना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका अनिल कुमार झाले पनि कांग्रेसको तर्फबाट मनोनयन दर्ता गराएका छन् । लोकतान्त्रिक आन्दोलनमा कांग्रेसको भूमिका अतुलनीय रहेकाले आफू कांग्रेसबाट चुनावी मैदानमा उत्रिएको झाले बताए ।

सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजेश चौधरी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का साझा उम्मेदवारका रूपमा योगेन्द्र यादव तथा जनमत पार्टीबाट देवेन्द्र मिश्रले पनि उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यक्रमअनुसार अब उम्मेदवारहरू प्रचारप्रसारमा केन्द्रित हुनेछन् ।