रौतहट – पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै रौतहट क्षेत्र नम्बर १ मा उजुरी दर्ता भएको छ ।
सोही निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामनरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएका हुन् ।
उम्मेदवार यादवले दर्ता गराएको उजुरीमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेको दाबी गरिएको छ । पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा चलिरहेको र उनी निलम्बित अवस्थामा रहेको जिकिर उजुरीमा गरिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम भ्रष्टाचार मुद्दा दायर भई निलम्बनमा रहेका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने कानूनी प्रावधान रहेको उम्मेदवार यादवको भनाइ छ ।
‘कानूनी रूपमा अयोग्य व्यक्तिले निर्वाचन लड्न नमिल्ने भएकाले ऐनको व्यवस्था अनुसार नेपालको उम्मेदवारी खारेज हुनुपर्छ,’ उनले भने ।
निर्वाचन अधिकृतको कार्यालयले उजुरी दर्ता भएको पुष्टि गर्दै यसबारे आवश्यक कानूनी प्रक्रिया र छानबिन सुरु गरिएको जनाएको छ । निर्वाचन तालिकाअनुसार दाबी विरोधमाथि जाँचबुझ गरी निर्वाचन अधिकृतको कार्यालयले केही दिनभित्रै निर्णय सुनाउनेछ । यस विषयमा नेपालको पक्षबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।




प्रतिक्रिया