रौतहट – पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौरमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
रौतहट क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका नेता नेपालले शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै हिन्दू र मुस्लिम समुदायबिचको द्वन्द्वले जनजीवन त्रसित बनेकोमा चिन्ता व्यक्त गरेका छन् ।
गौरको सबगढा लगायतका क्षेत्रमा उत्पन्न तनावले सर्वसाधारणको सुरक्षा जोखिममा परेको उल्लेख गर्दै उनले भने, ‘हिन्दू होस् वा मुस्लिम कुनै पनि नागरिकको जीवन र सुरक्षा जोखिममा पर्नु हुँदैन । यस्तो द्वन्द्व कुनै पनि हालतमा स्वीकार्य छैन ।’
नेता नेपालले स्थिति नियन्त्रणमा लिन सरकार र सुरक्षा निकायसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए । उनले गृहमन्त्रीसँग टेलिफोन संवाद गरी शान्ति सुरक्षा कायम गर्न आवश्यक परे निषेधाज्ञा (कर्फ्यू) लगाउन र सशस्त्र प्रहरी एवं नेपाली सेना समेत परिचालन गर्न सुझाव दिएको बताएका छन् ।
‘मैले गृहमन्त्रीजीसँग कुरा गरेको छु, कर्फ्यु लगाएर भए पनि स्थिति नियन्त्रणमा लिनुपर्छ,’ नेपालले भने, ‘यसका साथै जनकपुरका डीआईजी, रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग पनि समन्वय भइरहेको छ ।’
कसैको घरमा क्षति नपुगोस् र व्यक्तिगत मर्यादामा आँच नआओस् भन्नेतर्फ प्रशासन सचेत हुनुपर्नेमा जोड दिँदै उनले घृणा त्यागेर आपसी छलफल र संवादबाट समस्या समाधान गर्न सबै पक्षलाई अपिल गरेका छन् ।




प्रतिक्रिया