काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसलाई चिढ्याएर अरु पार्टीलाई खुशी पार्ने दिशामा जान नसकिने बताएका छन् ।
शनिबार पार्टीनिकट कानून व्यवसायीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन सरकार छाड्ने र कांग्रेसलाई चिढ्याउने कुराले पार्टी सिद्धिने र सिंगो अभियान धराशायी हुने चिन्ता व्यक्त गरे ।
सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा कसविरुद्ध भन्दै पार्टीले प्रमुख शत्रु किटान गरेर जानुपर्ने आवाज उठाएपछि अध्यक्ष नेपालले कांग्रेसविरुद्ध जान नसकिने स्पष्ट पारेका हुन् । खनालले पार्टीभित्र जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) का विषयमा पनि असन्तुष्टि जनाएका छन् ।
जवाफमा अध्यक्ष नेपालले भने, ‘अहिले गठबन्धनको सरकारबाट बाहिरिनुपर्छ भन्नु पार्टी सिध्याउन खोज्ने कुरा हो । कांग्रेसलाई शत्रु बनाएर, कांग्रेसलाई बिच्क्याएर अरू कसैलाई खुशी पार्न खोजेको छ भने त्यो कुरा सिंगो अभियान धराशायी पार्ने हो । हामी त्यो दिशामा जान सक्दैनौं ।’
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनलाई बलियो बनाएर जानुपर्ने धारणा राखेका छन् ।




प्रतिक्रिया