नेपालका चुनौती सामना गर्न सबैले हातेमालो गर्नुपर्छ : माधव नेपाल

नेपालका चुनौती सामना गर्न सबैले हातेमालो गर्नुपर्छ : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पछिल्लो समय देखिएका चुनौती सामना गर्न सबैले हातेमालो गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसले पार्टी मुख्यालय सानेपामा शनिबार आयोजित चियापान कार्यक्रममा अध्यक्ष नेपालले फरक दर्शन र विचार भए पनि राष्ट्रिय मुद्दाका सवालमा सबै पार्टी एक भएर अघि बढ्ने नेपाली विशेषता भएको बताए ।

‘हाम्रो देशको विशेषता भनेको भिन्नभिन्न प्रकारको दर्शन भए पनि हामी सहकार्य गरेर अगाडि बढेका छौं । देशलाई अगाडि बढाउने विषयमा, जनाताका समस्या सरोकार राख्ने विषयमा हामी हातेमालो गर्दै अगाडि बढिरहेका छौं,’ उनले भने, ‘त्यसो हुनाले नेपाली कांग्रेस, कम्युनिष्ट पार्टीहरू, विभिन्न राजनीतिक दलहरूले आयोजना गरेको यस्तो सामाजिक समारोहहरूमा उपस्थित हुनु स्वाभाविक र आवश्यक पनि हो ।’

अध्यक्ष नेपालले विगतमा अप्ठ्यारो, संकट र चुनौतीको समयमा हातेमालो गर्दै अगाडि बढेको राजनीतिक इतिहासलाई स्मरण गर्दै भने, ‘आजको चुनौती र अवसरहरू सबैमा हातेमालो गर्दै अगाडि बढ्नुपर्छ । समाजमा सकारात्मक सूचना दिनुपर्छ ।’

संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणका समयमा नेपालले सकारात्मक सन्देश दिन सक्नुपर्ने उनले बताए । उनले भने, ‘संक्रमणकालीन न्यायको प्रक्रियालाई छिटो टुंग्याउने कुरामा ढिलाइ भएको थियो, अब धेरै ढिला गर्नु हुँदैन । संयुक्त राष्ट्रसंघको महासचिव आएको अवस्थामा सकारात्मक सन्देश दिएर काम गर्नुपर्छ ।’