केपी ओलीको पक्षमा बहुमत सरकार बन्छ, नबने देश चुनावमा जान्छः नेता ढुंगेल

केपी ओलीको पक्षमा बहुमत सरकार बन्छ, नबने देश चुनावमा जान्छः नेता ढुंगेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा नेता एवं राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार कसैले चाहेर नहट्ने बताएका छन् ।

ओली नेतृत्वको नेकपाको दोरम्बा गाउँपालिका स्तरीय सभालाई सम्बोधन गर्दै ढुंगेलले केपी ओलीको पक्षमा बहुमत बन्दै गएको बताए । ‘बने केपी ओलीको पक्षमा बहुमत बन्छ, नबने कसैको पक्षमा बन्दैन, देश चुनावमा जान्छ’, ढुंगेलले भने ।

केपी ओली कहिल्यै पनि एकता विरोधी नेता नभएको ढुंगेलको भनाइ छ । पार्टी एकताकै लागि कम्युनिष्ट पार्टीको इतिहासमा काहीँ नभएको दुई अध्यक्ष प्रणाली केपी ओलीले स्वीकार गरेको ढुंगेलले बताए । स्थानीय चुनावमा जनताबाट बहिस्कृत भएपछि मात्र प्रचण्ड एकतामा आएको उनले बताए ।

उनले प्रचण्डले कहिले रुक्माङगत कटवाललाई हटाउने त कहिले २५ वटा संघको माग उठाएर देशलाई सिध्याउने भुङ्ग्रोमा पटक–पटक हात हाल्ने गरेको बताए । पछिल्लो पटक आफ्नै प्रधानमन्त्री र पार्टी सिध्याउने भुङ्ग्रोमा उनले हात हालेको ढुंगेलको भनाइ छ । यी सबै कुरा केपी ओलीकै कारण रोकिएको र देश जोगिएको उनको दाबी छ ।

पार्टी कामको जिम्मा दिए पनि प्रचण्ड सधैँ सिंहदरबार र बालुवाटार वरिपरि घुमिरहेको ढुंगेलको आरोप छ । प्रचण्ड सधैँ सत्ता र शक्तिको लागि लालायित भएको कारण अहिलेको अवस्था आएको ढुंगेलको भनाइ छ । संविधान रोक्ने भारतीयको खेललाई प्रतिवाद गर्ने एक मात्र नेता केपी ओली भएको उनले दाबी गरे ।

जनताको दुःखसँग सहकार्य गरेकै कारण तत्कालीन एमालेले स्थानीय निर्वाचनमा जनताको अथाह समर्थन पाएको उनको भनाइ छ । प्रचण्ड र माधव नेपाल यसलाई सहन नसकेर पार्टी र सरकार सिध्याउने खेलमा लागेको आरोप लगाए ।