काठमाण्डु– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दाको सन्दर्भमा पार्टीले निर्णय गरे आफू बिदा हुन तयार रहेको बताएका छन्।
शुक्रबार राजधानीमा आयोजित पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले पार्टीले यदि मुद्दाका कारण बिदा दिन चाह्यो भने आफू त्यसलाई स्वीकार गर्ने बताएका हुन्।
‘पार्टी बनाउने आँट मैले गरेको हो। चुनौतीको सामना गरेर अगाडि बढ्ने मान्छे हुँ,’ उनले भने, ‘तर यदि कमिटीले ठान्छ कि मुद्दाका कारण म बिदा हुनुपर्छ भने, म तयार छु।’
अध्यक्ष नेपालले आफूले जीवनमा एक पैसा पनि घुस नलिएको दाबी गर्दै भने, “मसँग डराउनु पर्ने कुनै कारण छैन। मलाई कुनै डर छैन।”
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानविपरीत प्रतिशोधका आधारमा मुद्दा चलाएको आरोप पनि लगाए। “नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने संवैधानिक व्यवस्था हुँदाहुँदै पनि मुद्दा दायर गर्नु दुर्भाग्यपूर्ण हो,” नेपालले स्पष्ट पारे।
उनले अहिले प्रतिशोधको राजनीति गरिरहेका व्यक्तिहरू नै अन्ततः आफूले खनेको खाल्डोमा पर्ने चेतावनीसमेत दिए।




प्रतिक्रिया