काठमाण्डु-नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बन्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँलाई ठगेको आरोप लगाएका छन् ।
अध्यक्ष नेपालले ओलीले आफू प्रधानमन्त्री बन्नकै लागि रातारात सरकार बदलेको र अहिले त्यो कुरा पुष्टि भएको दाबी गरे । काठमाडौंमा पार्टीको उपत्यका प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले प्रधानमन्त्री बन्नकै लागि संविधान संशोधनको कुरा गरेर ठगेको बताएका ।
संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर सरकार परिवर्तन गरेको बताउने प्रधानमन्त्रीले अहिले ०८७ मा संविधान संशोधन हुन्छ भन्नु नै त्यसको प्रमाण भएको उनको दाबी छ ।
नेपालले प्रधानमन्त्री ओली सरकार सञ्चालनमा गम्भीर नभएको पनि आरोप लगाए । ओली मुलुक र जनताको समस्या समाधानमा नभइ सत्तालाई कसरी स्वार्थमा प्रयोग गर्ने भन्ने कुरामा केन्द्रित भएको उनको आरोप छ ।
‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली यो मुलुक सञ्चालन गर्ने कुरामा गम्भीर हुनुहुन्न’, उनले अघि भने, ‘उहाँ वास्तवमा देश चलाउनका लागि जनताको समस्या समाधानका लागि होइन, कसरी हुन्छ यो सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने भन्ने कुरामा केन्द्रित भएर लाग्नुभएको छ ।’
उनले प्रधानमन्त्री ओलीको कार्यशैलीले देशको भविष्यलाई संकटग्रस्त बनाउँदै जाने सम्भावना देखिएको दाबीसमेत गरे । नेपालले कांग्रेस एमालेलाई संसदमा रहेको बहुमतको दुरुपयोग नगर्न सुझाव दिए ।
अध्यादेश र संविधान संशोधन लगायतका विषयमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले संसदको संख्याको दुरुपयोग गरे जनताले प्रतिकार गर्ने चेतावनी दिए । ‘संख्याको मात लागेर दुरुपयोग गर्नु थाल्नुभयो भने त्यसको प्रतिकारमा जनता उत्रिन्छन्’, उनले भने, ‘जनताभन्दा शक्तिशाली कोही पनि हुँदैन ।’
उनले अहिलेको सरकारले संख्याकै मातमा दुई दलीय व्यवस्थाको वकालत गर्न थालेको बताउँदै संविधान संशोधन गरेर दुई दलीय व्यवस्था राख्ने एजेन्डा छ कि ? भन्ने प्रश्न पनि गरे । नेपालले त्यसो भए सामना गर्न तयारी रहेको पनि बताए ।
नेपालले पछिल्लो पटकको सरकार फेरबदलअघि ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री चाहियो भनेको भए दिने दाबी गरे ।
‘एउटा सरकार चलिरहेको थियो, त्यो सरकार रातारात बदलियो । बदल्नुपर्ने कारण के थियो?,’ अध्यक्ष नेपालले भने, ‘त्यसको औचित्य के थियो ? दुई वटा कम्युनिस्ट पार्टी मिलेर सरकार चलाइरहेको अवस्थामा त्यो सरकार हटाउनुपर्ने कारण के परेको थियो ?’
त्यति बेला ओलीसँग गठबन्धन फेर्नुपर्ने कुनै कारण नभएको उनले दाबी गरे । ‘प्रधानमन्त्री पद नै चाहिएको थियो भने प्रचण्डजीसँग कुरा गरेको भए त्यो पद पनि दिनुहुन्थ्यो, बार्गेनिङ गरेको भए,’ नेपालले भने । यदि दाहालले नछाडे पनि आफूलाई भनेको भए मान्ने अवस्था रहेको पनि उनले बताए ।




प्रतिक्रिया