काठमाण्डु- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड दिएका छन् ।
‘हामी आफ्नो पार्टीलाई बलियो बनाउन चाहन्छौं । सशक्त र प्रभावकारी बनाउन चाहन्छौ । यसमा कुनै प्रकारका अन्योल र द्विविधा राख्नुपर्ने आवश्यकता छैन’, ललितपुरमा शुक्रबारबाट सुरु भएको पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भने ।
अध्यक्ष नेपालले एमाले फुटाएर आफूले सही र जायज काम गरेको स्पष्ट पारे । एमालेको नाम नलिई दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गरेको दाबी गरे ।
‘नेपालको राजनीतिमा क्रान्तिकारी धारको रक्षा गर्न र दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गर्यौं र त्यो विद्रोह जायज थियो भन्ने कुरा दिनदिनैका घटनाक्रमहरूले पुष्टि गरिरहेका छन्,’ उनले भने । एमालेसँग विद्रोह गरेर नयाँ पार्टी बनाएकोमा गौरवबोध भएको पनि उनले बताए । अध्यक्ष नेपालले एकीकृत समाजवादीले कुनै पार्टीसँग एकता गर्ने भनेर चलाइएको हल्ला निराधार रहेको पनि स्पष्ट पारे ।
‘एकीकृत समाजवादीका बारेमा अनेकथरीका कुराहरू प्रचारमा आइरहेका छन् । कसैले एमालेसँग मिल्न गयो, कसैले माओवादीसँग मिल्न जाने भयो भन्छज् । यी सबै कुप्रचार हुन्’, उनले भने ।
अध्यक्ष नेपालले मित्र शक्ति खोजेर सहकार्य गर्ने बताउँदै भने, ‘पार्टीलाई अगाडि बढाउन मित्र र सहयोगीहरुको खोजी गरिरहेका छौं ।’ वामपन्थी, समाजवादी र परिवर्तनकारी शक्तिहरूलाई मिलाएर लैजानुपर्ने आवश्यकता रहेको उनले बताए ।
नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा तानाशाह लाद्ने कुचेष्टा गरिरहेको आरोप लगाए ।
सरकारले साना र विरोधी पार्टीलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको दाबी गर्दै उनले भने, ‘अहिलेको सरकार बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोज्दैछ । दुई दलीयको नाममा एकदलीय तानाशाह लाद्ने सोंच भन्दा भिन्न छैन ।’ उनले संविधानलाई मिच्ने बानी परेकाहरू कानुन मिच्न पनि त्यतिकै अग्रसर भएको टिप्प्णी गरे ।




प्रतिक्रिया