काठमाण्डु – प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनकारी भएको बताएका छन् ।
मंगलबारर चन्द्रागिरी रिसोर्टमा जारी केन्द्रीय कमिटी बैठकपछि नेता नेपालले अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनमा विभाजन ल्याउने फूटपरस्त अभिव्यक्ति र गतिविधि गरेको आरोप लगाएका छन् ।
‘आफ्ना वरिपरि निजी फाइदाका लागि जयजयकार गर्ने चाटुकारहरू जम्मा गर्ने, तिनले गरेको झुठो प्रशंसामा रमाउने, चाटुकारहरूका लागि जति पनि समय उपलब्ध गराउने तर पार्टीको बैठकका लागि समय ननिकाल्ने ओलीको स्वभाव र चरित्रबारे त सबैलाई जानकारी भएकै विषय हो’, नेता नेपालले सार्वजनिक गरेको दस्तावेजनमा भनिएको छ, ‘ओलीले कम्युनिस्ट आन्दोलनमा विभाजन ल्याउने फूटपरस्त अभिव्यक्ति र गतिविधि गर्नुभयो ।’
एकीकरण गरिएका शुरुका दिनमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र केपी ओलीको चोँचोमोचो मिलेको देखिएको र पार्टी एकीकरणको पूर्वसन्ध्यामा तत्कालीन नेकपा(एमाले)को तर्फबाट ओली र विष्णु पौडेल तथा नेकपा(माओवादी)को तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनार्दन शर्माको बीचमा अति गोप्यरुपमा संझौता भएको पछिमात्र थाहा पाएको उनले उल्लेख गरेका छन् ।
‘कमरेड प्रचण्डले ओलीको अति धूर्त मनोविज्ञानलाई चिन्नु भएकै थिएन’, दस्तावेजनमा भनिएको छ, ‘२०७६ साल मंसिर ४ गतेसम्म आइपुग्दा ओलीले पाँचै वर्ष आफू नै प्रधानमन्त्री हुने र पार्टी कामको कार्यकारी जिम्मा कमरेड प्रचण्डलाई दिनेगरी सम्झौता गराई कमरेड प्रचण्डलाई फसाउन सफल हुनुभयो ।’
उनले जनतालाई आ–आफ्नो विश्वास अनुसार धर्म मान्न र आफ्नो संस्कृतिको जगर्ना गर्ने अधिकार छ भन्ने कुरालाई कम्युनिस्ट पार्टी दृढ विश्वास गर्ने बताए ।
नेता नेपालले धर्म र संस्कृतिका नाममा मानिसले मानिसको शोषण गर्न नहुने बताउँदै धर्मको नाममा अन्धविश्वास फैलाउन, मानिस–मानिसका बीचमा भेदभाव गर्न–गराउन पाइन्न भन्ने मूल मान्यताहरू नै धर्म–संस्कृतिबारे कम्युनिस्ट पार्टीका सन्तुलित दृष्टिकोण भएको बताए ।
‘कम्युनिस्ट पार्टीले जनताको धार्मिक आस्थाको सम्मान गर्दछ तर धर्मलाई राजनीतिसंग मिसाउने घृणित खेलमा कम्युनिस्ट पार्टी कहिल्यै फँस्दैन,’ प्रतिवेदनमा भनिएको छ, ‘तर के.पी.शर्मा ओली आफ्नो समाप्त हुँदै गएको राजनीतिक हैसियत जोगाउनका लागि धर्मलाई राजनीतिसंग मिसाउने दुश्प्रयास गर्दै हुनुहुन्छ ।’




प्रतिक्रिया