व्याख्यात्मक घोषणापछि एमसीसी पास गर्दा नेपाल विदेशीको गुलाम बन्नु परेको छैन : माधव नेपाल


काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी सहयोगको एमसीसीलाई व्याख्यात्मक घोषणापछि मात्रै पास गर्दा नेपाल विदेशीको गुलाम बन्नु नपरेको दाबी गरेका छन् ।

सोमबार काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले व्याख्यात्मक घोषणाको रूपमा एमसीसी पास नगरेको भए नेपालको हात तल पर्ने र नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्ने स्थिति आउने दाबी गरे ।

एमसीसीको घोर विरोध गरेका कारण वाहवाही पाउने भए मजदुर किसान पार्टी र मोहनविक्रम सिंहको पार्टीले सय सिट कटाउने उनको तर्क छ ।

अध्यक्ष नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताए । गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको उनले बताए ।

गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी आफूहरूको रहेको उनले बताए । गठबन्धन बनाउने काममा भूमिका आफूले नै खेलेको बताउँदै उनले गठबन्धन आफूले नै जोगाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘आज गठबन्धनलाई धारे हात लगाएर यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ, त्यसबाट होसियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement