काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रियालाई पूर्णता दिन राजनीतिक दलहरूबीच भएको सहमतिले नयाँ इतिहास रच्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथिको छलफलमा उनले अन्तिम विन्दुमा आइपुगेको शान्ति प्रक्रियालाई सम्पन्न गर्न विलम्ब गर्न हुने धारणा राखे ।
‘शान्ति प्रक्रिया अन्तिम चरणमा आइपुगेको छ, अब धेरै ढिला नगरौं । २–२ पटक दुवै आयोगमा पदाधिकारी नियुक्ति गर्यौं, राज्यको लगानी खेर गयो,’ पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘पीडित परिवार न्यायको प्रतीक्षामा छन्, जघन्य अपराध गर्नेले दण्ड पाउनुपर्छ, पुराना कुरालाई थन्क्याई राखेर बदलाको भावनाबाट राख्ने गर्नु हुँदैन ।’
पीडितका समस्यालाई ध्यान दिँदै सिंगो शान्ति प्रक्रियालाई सम्पन्न गर्ने बाटोमा अघि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले यसलाई पूर्णता दिन सम्पूर्ण राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताए । ‘शान्ति प्रक्रियालाई पूर्णता दिन केही राजनीतिक दल मात्र मिलेर हुँदैन, सबै राजनीतिक दलको साझा विषय बनाउनुपर्छ,’ उनले भने, ‘आज महत्त्वपूर्ण विधेयक पारित हुँदैछ । यसले नयाँ इतिहास कायम गर्नेछ ।’
संक्रमणकालीन न्यायसँग जोडिएका कामलाई सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसका लागि आफ्नो पार्टी पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे । विक्रम संवत् २०५४ सालदेखि तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पटक–पटक भेटघाट र छलफल हुँदै आएको स्मरण गर्दै उनले त्यसअवस्थामा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन आफूले भूमिका खेल्दै आइरहेको जानकारी दिए ।




प्रतिक्रिया