काठमाण्डु – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक मंगलबार पुन: बस्ने गरी स्थगित भएको छ ।
पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले बैठकमा उठेका विचार र सुझावहरूलाई समेटेर निष्कर्षमा पुर्याउन मंगलबार २४ गते बिहान ११ बजेका लागि अर्को बैठक तय गरिएको बताए ।
उनले भने, ‘आगामी कार्यक्रमहरू कसरी लैजाने भन्ने विषयमा पनि बैठकमा छलफल भयो र बैठकमा बोलेका कुराहरूलाई निष्कर्षमा पुर्याउनका लागि र बैठक सक्ने गरी २४ गते ११ बजेका लागि बैठक तय भएको छ । २४ गते ११ बजे बस्ने बैठकले नेताहरूको समग्र धारणा र सुझावहरूलाई समेटेर निष्कर्ष निकाल्ने छ । ती निष्कर्षका आधारमा पार्टीले आवश्यक निर्णयहरू गर्नेछ ।’
बैठकमा नेताहरूका धारणा राख्ने प्रक्रिया आईतबार सम्पन्न भएको छ । सम्मानित नेता झलनाथ खनालसहित विभिन्न वरिष्ठ नेताहरूले बैठकमा आफ्नो विचार प्रस्तुत गरेका थिए । बैठकमा आगामी पार्टीका कार्यक्रमहरू कसरी अगाडि बढाउने भन्ने विषयमा समेत छलफल भएको ज्वालाले जानकारी दिए ।
प्रतिक्रिया