काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका नेता देशको प्रधानमन्त्री हुँदा पनि परिणाम आउने काम नहुनु विडम्बना रहेको बताएका छन् ।
बुधबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसको अवसरमा समाजवादी मोर्चाले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम आउने गरी काम गर्न नसकेको आरोप लगाए ।
उनले भने, ‘अहिले पनि कम्युनिष्ट पार्टीका नेता देशको प्रधानमन्त्री तर देशको अवस्था राम्रो छैन । जनतामा निराशा छ । परिणाम आउने काम भइरहेको छैन कस्तो विडम्बना ? १ जना छाउपडी प्रथाको शिकार भएर मृत्युवरण गरेको छ । त्यो समाजले हटाउन सकेको छैन । त्यहाँ कम्युनिष्ट पार्टीहरू पनि छन् तर उनीहरू अभियान चलाउँदैनन् । हामीले छुवाछुत, छाउपडी लगायतका प्रथाको अन्त्य गर्न सामाजिक जागरण मात्र होइन, त्यस्ता प्रवृत्ति बोक्नेहरूको विरुद्धमा भण्डाफोर गर्ने अभियान चलाएको छैनौं ।’
अहिले देशको सबैभन्दा ठूलो रोग व्यक्तिवाद रहेको पनि उनले बताए । ‘अहिले भएको सबैभन्दा ठूलो रोग व्यक्तिवादको रोग हो । आफूलाई मात्र केन्द्रबिन्दुमा राख्ने रोग हो । सामूहिकताको भावनाको अभाव छ । सामूहिक छलफल गरेर निष्कर्षमा पुग्ने भावनाको अभाव हो,’ उनले भने ।
कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्य हुन लाग्दा उदार प्रजातान्त्रिक आन्दोलनतिर भड्किरहेको टिप्पणी गरे । ‘कम्युनिष्ट आन्दोलन करीब–करीब अन्त्य भएको जस्तो देख्छु तर कम्युनिष्ट आन्दोलनबाट लिबरल डेमोक्रेटिक मुभमेन्टतिर भड्किरहेको देख्छु । त्यो पनि एउटा ठूलै षड्यन्त्रको शिकार हो,’ उनले भने ।
उनले नेपालमा जीवनभर गणतन्त्रको पक्षमा र राजतन्त्रको विरुद्धमा कुनै ठाउँमा कहिले पनि कतै पनि कुनै किसिमको लचकता नदेखाइकन जीवन्त संघर्ष गर्ने व्यक्तित्वको रूपमा पुष्पलाललाई लिनुपर्ने धारणा राखे ।
अध्यक्ष यादवले नेपालमा यतिधेरै कम्युनिष्ट नेताहरू हुँदाहुँदै कहिले राप्रपा त कहिले कांग्रेसको पछि लाग्नु पनि एउटा षड्यन्त्र भएको बताए ।




प्रतिक्रिया