काठमाण्डु– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई कमजोर बनाउने वा खतम गर्ने सोच कहिल्यै स्वीकार नगर्ने बताएका छन्।
शुक्रबार काठमाडौं क्षेत्र नं. ७ निर्वाचन क्षेत्रीय कमिटीको अन्तरक्रिया कार्यक्रममा उनले वर्तमान अवस्थामा पार्टी सामु ठूलो चुनौती एमाले नेतृत्व, विशेषगरी अध्यक्ष केपी शर्मा ओलीबाट आएको जिकिर गरे।
उनका अनुसार काङ्ग्रेसलाई शत्रु बनाउने, माओवादीसँग दोस्ती तोड्ने र पार्टीलाई एक्लै उभ्याउने सोच देखिएको छ, जुन कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने प्रयास हो। उनले भने, “जो विकासको बाधक हुन्छ, त्यही शत्रु हो। अहिलेको परिस्थितिमा एक कम्युनिष्ट पार्टीकै नेताबाट समस्या उत्पन्न भएको छ। पार्टीलाई कमजोर बनाउने र खतम गर्ने सोच स्वीकार्य हुँदैन।”
यसै सन्दर्भमा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई केही महिनाअघि सदस्यता दिँदै अध्यक्षको आश्वासन दिने व्यक्ति नै अहिले भण्डारीविरुद्ध उत्रिएको टिप्पणी गरे।
यस्तै, राजावादी शक्तिको मनोबल बढिरहेका बेला समाजवादी मोर्चाले एक्लै आँट गरेर एकताबद्ध बाम घटक निर्माण गर्ने अभियानमा लागेको समेत उनले स्पष्ट पारे।




प्रतिक्रिया