नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिस्टहरूले गरेका गल्तीको आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।
आइतबार मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले मदन भण्डारीले भनेजस्तो कुरा गरेर मात्रै चिउरा नभिज्ने उदाहरण दिँदै उक्त कुरा बताएका हुन् ।
उनले मिल्नसक्ने कुरामा मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
‘मदन भण्डारीले भन्नुहुन्थ्यो, कुरा गरेर मात्रै चिउरा भिज्नेवाला छैन । कुरो मात्रै गरेर हुनेवाला केही छैन,’ नेपालले भने, ‘हामीले अहिले मिल्नसक्ने कुरामा मिलेर अघि बढ्नुपर्ने छ ।’
उनका अनुसार नेताहरूले जनताको बदलिँदो मनोविज्ञानलाई बुझ्न नसक्नु गल्ती भएको थियो ।
‘हामीमा के के विकृति आए रु यसको आत्मसमीक्षा गरौं,’ उनले भने, ‘ यो एउटा पार्टीको मात्रै कुरा होइन । नेपालका जति पनि कम्युनिस्ट घटक छन्, त्यसको आत्ममन्थन गर्न सक्नुपर्छ । त्यो गर्न सक्यौं भने मात्रै हामीले कम्युनिस्टहरूलाई एक बनाउन सक्छौं ।’
उनले मदन भण्डारीलाई स्मरण गर्दै उनको विचार पछ्याउन आग्रह गरे ।
‘उहाँले परसम्मको दृष्टिकोण राखेर चल्नुहुन्थ्यो । समस्याको पहिचान गर्न खोज्नुहुन्थ्यो । वास्तविकताको धरातललाई जोड दिनुहुन्थ्यो,’ उनले भने, ‘चुनौतीको सामना गर्ने आँट गर्नुपर्छ भन्नुहुन्थ्यो । उहाँले पार्टीको अनुशासन कहिले पनि तोड्नुभएन । थुप्रै संस्मरणका शृंखला छन्। कुनै पनि प्रतिस्पर्धामा श्रेष्ठ हुने कुरामा उहाँले जोड दिनुभएको छ । जबजका कतिपय पक्ष हामीले अहिले पनि ग्रहण गर्नुपर्ने हुन्छ ।’




प्रतिक्रिया