काठमाण्डु – नेकपा एमालेको माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्तामा बस्नुअघि नेपाल समूह नयाँ बानेश्वरमा छलफलमा जुटेको हो । छलफलमा झलनाथ खनाल, माधव नेपालसहितका नेताहरू सहभागी छन् ।
ओलीसँग वार्ता गर्न चारजना नेता धुम्बाराही पार्टी कार्यालयमा जाँदैछन् । वार्तामा नेपालसहित को–को जाने भन्ने पनि सोही छलफलबाट तय हुने बताइएको छ । संस्थापन समूहबाट अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली वार्तामा बस्दैछन् ।
नेपालनिकट नेताका अनुसार चैत ३ र ४ गते आयोजना गरिने माधव नेपाल पक्षको राष्ट्रिय भेलाको तयारीका लागि छलफल भएको हो । यसबीचमा अध्यक्ष ओलीसँग वार्ता गर्नुपर्ने भएकाले सोही छलफलबाट आफ्नो टोलीसहित नेताहरू धुम्बाराही जानेछन् ।
नेपालले आफू निकट नेताहरुसँग अध्यक्ष ओलीले बालुवाटारमै बोलाए पनि आफूले टीमसहित कार्यालयमा छलफल गर्ने प्रस्ताव राखेपछि ओली सहमत भएको बताएका छन् ।




प्रतिक्रिया