अल्पमतमा परेपछि ओलीले बटुवालाई केन्द्रीय सदस्य बनाएः माधव नेपाल

अल्पमतमा परेपछि ओलीले बटुवालाई केन्द्रीय सदस्य बनाएः माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको हठका कारण वार्ता सफल हुन नसकेको बताएका छन् ।

शुक्रबार जनकपुरधामस्थित नेकपा पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले बालुवाटारको बालुवामा तेल ननिस्कने भन्दै केपी ओली नसुध्रिने बताए ।

‘पार्टी फुट्न नदिन पटक–पटक भेटघाट गरे पनि ओलीको हठका कारण सफल हुन सकिएन,’ नेपालले भने, ‘बालुवाटारको बालुवामा तेल छैन । बालुवा जति पेले पनि तेल निस्किने अवस्था छैन । केपी ओली सुध्रिनेवाला छैनन् । छलफल र भेटघाटमा ओली आफनो दम्भबाट पछाडि हट्न चाहेनन् ।’

उनले केपी ओलीको दम्भ काठमाण्डुको धरहराको उकालो चढ्दै गएको बताए । नेता नेपालले ओलीको भड्काउ चिन्तनले पार्टी, मुलुक, लोकतन्त्र संकटमा परेको बताएका छन् ।

‘ओलीका कारण लोकतान्त्रिक आन्दोलन संकटमा परेको छ । अल्पमतमा परेपछि ओलीले बाटो हिँड्ने बटुवालाई केन्द्रीय सदस्य बनाएका छन्,’ उनले भने,‘बटुवालाई केन्द्रीय सदस्य बनाउन थालेपछि बालुवाटारनजिक भएर बटुवा बाटो हिँड्नै छोडे ।’

नेता नेपालले प्रधानमन्त्री ओलीले आफूलाई कारबाही गर्न नसक्ने भन्दै पार्टी र आन्दोलन नछोड्ने बताए ।

‘केपी ओलीले माधव नेपाललाई सस्पेन्ड गर्ने ? तपाईले मलाई पार्टीबाट निकाल्ने ? हामी पार्टी, आन्दोलन, लोकतन्त्र छोड्दैनौं’, उनले भने ।