सामूहिक राजीनामा दिने नेपाल पक्षका सांसदको तयारी

सामूहिक राजीनामा दिने नेपाल पक्षका सांसदको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले नेता माधव नेपाल समूहका २१ जना सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

पार्टीभित्र आफूहरु उपेक्षामा परेको बताउँदै आएको नेपाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई दबाब बढाउनका लागि राजीनामा दिने तयारी गरेको स्रोतले जानकारी दियो । वैशाख २७ गते अगावै राजीनामा दिने विषयमा नेपाल समूहले छलफल गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेका छन् । सोहीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेन आह्वान गरेकी छन् ।

संसद सचिवलायले पनि बैठकको तयारी भइरहेको जनाएको छ । सचिवालयले बैठकमा सहभागी हुन पिसिआर रिपोर्ट अनिवार्य गरिएको जनाएको छ ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने नेपाल समूहको माग छ । त्यस्तै फागुन २७ गते प्रधानमन्त्री ओलीले गरेको एकलौटी निर्णय फिर्ता हुनुपर्ने बताउँदै आएको छ ।

प्रधानमन्त्री ओलीले फागुन २७ गते आफू निकट केन्द्रीय कमिटी बैठक बोलाएर संगठन विस्तार गरेका थिए । उनले नेपाल पक्षले पाउँदै आएका सबै जिम्मेवारी समेत खोसेका थिए ।

एमालेभित्र माधव पक्ष ओलीले वार्ता गर्नुपर्ने र आफ्ना सबै माग पूरा गर्नुपर्ने अडानमा रहेको छ । प्रदेशमा फ्लोर क्रस भए पनि केन्द्रमा भने फ्लोर क्रस नगर्ने पक्षमा नेपाल पक्षका सांसद रहेका छन् । प्रधानमन्त्री ओलीले नेपाल समूहका ३० जना सांसदलाई स्पष्टिकरण सोधिसकेका छन् ।

राजीनामा दिनेहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, योगेश भट्टराई, पवित्रा निरौला खरेल, भवानी खापुङ, जयकुमार राई, यज्ञराज सुनुवार, गणेश पहाडी, विरोध खतिवडा, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, घनश्याम भुसाल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, हिराचन्द्र केसी, झपट रावल, भीमवहादुर रावल, दिपकप्रकाश भट्ट र सुरेन्द्र पाण्डे रहेका छन् ।