काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सरकार गैर जिम्मेवार बनेको टिप्पणी गरेका छन् ।
कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो सरकारले बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेको उनको भनाई छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक ढंगबाट अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै सरकारको आलोचना गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले सरकारलाई गलत बाटोबाट नियुक्ति प्रयास बन्द गर्न र जनताको जीवन रक्षामा केन्द्रित हुन आह्वान समेत गरेका छन् ।
‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो ।
मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु।’




प्रतिक्रिया