काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दासढुंगा जीप दुर्घटनाबारे छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८ औँ स्मृति दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै नेता नेपालले घटना भएको २८ वर्ष बितिसक्दा पनि दासढुंगाको रहस्य बाहिर नआएको भन्दै छानबिन गर्न माग गरेका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको बताएका छन् ।
‘मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंङ्घा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु’, उनले भनेका छन् ।
साथै नेता नेपालले नेकपा एमालेको आन्तरिक जीवनमा असाध्यै संगीन परिस्थितिको सामना गरिरहेको पनि बताएका छन् ।
‘अहिले कमरेड मदन भण्डारी र जीवराज आश्रितले परिकल्पना गरेको सुन्दर, शान्त, समृद्ध, सामाजिक न्याय र समानतायुक्त नेपालको सपना साकार पार्नका लागि हामी प्रतिबद्ध हुनपर्ने समय आएको छ’, उनले भनेका छन् ।
नेता नेपालले देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तिहरुलाई सच्चाएर उनीहरुले देखाएको बाटोमा हिड्ने प्रण गर्न पनि सबै नेता कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।




प्रतिक्रिया