ओलीलाई नेपाल समूहमाथिको कारबाही निल्नु न ओकल्नु !

ओलीलाई नेपाल समूहमाथिको कारबाही निल्नु न ओकल्नु !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा विघटन मुद्दा अहिले सर्वोच्चमा विचाराधिन छ । यसअघिका इजलासमा मूल मुद्दामा छलफल नै हुन सकेको छैन ।

इजलासमा नेकपा विभाजन सम्बन्धी फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र त्यसमा पुनरावलोकन अस्वीकार गर्ने न्यायाधीश तेजबहादुर केसीलाई सहभागी गराइएको भनेर रिट निवेदकका कानून व्यवसायीले प्रश्न उठाएपछि बेन्च र बारबीच विश्वासको खडेरी देखा परेको ।

अबको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संवैधानिक इजलास परिवर्तन गर्ने भएका छन् । सर्वोच्चमा बिचाराधिन मुद्दा कसको पक्षमा फैसला हुने हो यो सबैका लागि चासोको बिषय बनेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेपछि विपक्षी दलसंगै एमालेको माधवकुमार नेपाल समूह पनि ओलीसंग रुष्ट बनेको छ ।

विपक्षी दलहरुसंग नेपाल समूह मार्चाबन्दी गरेर ओलीविरुद्ध लागिरहेको छ । विपक्षी गठबन्धनमा लागेका नेपाललाई ओलीले पार्टीबाट निष्कासन समेत गरिसकेका छन् । तर समूहमा लागेका अन्य नेताहरुको कारवाही भने रोकिएको छ । एमालेका एक नेताले भने, ‘प्रधानमन्त्रीले आफुलाई संसदमा बलियो देखाउनैका लागी नेपाल पक्षीय नेताहरुको कारवाही रोक्नुभयो । यदी संसद पुनः स्थापना भयो भने संसदमा पनि बलियो देखिनुपर्यो । आवेगमा गरिएको कारवाहीले पछुताउनु त भएन ।’

यसअघि भएको संसद विघटनका बेला संसद पुनः स्थापना हुदै नहुने बताउने गरेका ओलीले यो पटक भने संसद पुनस्थापना भएमा आफु कमजोर हुने ठानेर यसअघि गरिएका कारवाहीलाई समेत थाति राखेका छन् ।

अडानबाट पछि हटे

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने अडान राखेको छ । तर, प्रधानमन्त्री ओलीले पार्टी एकतापछि धेरै परीवर्तन भइसकेको बताउँदै कुनै पनि हालतमा जेठ २ मा फर्कन नसकिने अडान लिँदै आएका छन् ।

ओलीको अडान पछि नेपाल पक्ष ओलीलाई छाडेर प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्न पुगेको छ । ओली अराजक बनेको भन्दै ओली विरुद्धको गठबन्धनमा नेपाल समृहपनि सामेल भएपछि ओलीले नेपाललाई पार्टीबाट निष्काशन गरेका थिए । तर, अदालमा मुद्धा विचाराधिन रहेकाले ओलीले नेपाल पक्षका अरु नेतालाई गर्ने भनेको कारवाही थाती राखेका छन् बरु आफू जेठ २ मै फर्कन तयार रहेको सन्देश नेपाल पक्षलाई पठाएका छन् ।

नेपाल पक्षले भने ओलीले संसदमा बलियो सावित हुनका लागि कारवाही रोकेको बताउँदै आएको छ । एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानै संरचना फर्काउने सन्देश पठाए पनि त्यसलाई ‘धोका’ को संज्ञा दिएको छ । एमालेको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता माधवकुमार नेपालले ओलीको सन्देश आफ्नो समूहलाई ‘फुटाउने र राज गर्ने’ नीतिका रूपमा आएको बताएका छन् ।

ओलीको सन्देशलाई नेता नेपालले अलमल्याउन अपनाएको फन्डाका रूपमा लिएका छन् । नेता नेपालले भने, ‘जब ओली संकट महसुस गर्छन् त्यसपछि अनेकन फन्डा गर्न थाल्छन् । उनले पुरानो कमिटी ब्युँताउँछु भन्नु पनि त्यही फन्डा हो । हिजो जुन कुरा आएको छ २०७२ जेठ २ मा फर्काउँछु भन्ने त्यो नक्कली कुरा हो । फर्काउने हो भने भटाभट फर्काए भइहाल्छ नि, किन यसो गर्छु भन्नुप¥यो ।’

बैठक नै स्थगित

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहलाई पार्टीभित्र समेट्ने रणनीति लिएका छन् । उनले पार्टीलाई विभाजनबाट रोक्नका लागि नेपाल समूहका नेताहरुसँग वार्ता गरिरहेका छन् । नेकपा एमाले भित्रको विभाजन र एकता प्रयासकाबीच दुबै समूहले बैठक बोलाएका थिए ।

पार्टीलाई जीवन्त बनाउने विषयमा छलफल गर्न संस्थापन पक्षले अपरान्ह ४ बजे वालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाउँदा खनाल नेपाल समूहले भने केन्द्रीय कमिटी बैठक बोलाएको थियो । तर, संस्थापन पक्षको बैठक भने स्थगित भएको छ ।

माधव नेपाल समूहको आजको बैठकको रणनीति हेरेर बैठक बोलाउने संस्थापन पक्षको तयारी छ । माधव नेपाल समूहका ११ जना नेताहरुलाई पार्टीबाट निष्काशन गर्ने निर्णय पुनःरावलोकन गर्ने विषयमा अध्यक्ष ओली र नेपाल पक्षका नेताहरुबीच छलफल चलिरहेकाले वार्ता निष्कर्षमा पुगेपछि अर्को बैठक बस्ने पार्टी कार्यालय सचिव शेरवहादुर तामाङले बताए ।