काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूह नजाने भएको छ ।
आइतबार बसेको एमालेको स्थायी कमिटी बैठकमार्फत प्रधानमन्त्री ओलीले आगामी असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेका थिए ।
सर्वोच्च अदालतले एमालेको १० औं महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक घोषणा गरेपनि प्रधानमन्त्री अोलीले त्यसैलाई निरन्तरता दिएका हुन् ।
नेपाल समूहले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने बताउँदै आएपनि प्रधानमन्त्री अोलीले त्यसलाई इन्कार गरेका छन् ।
नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्य आफ्ना माग पूरा नभएसम्म बैठकमा सहभागी नहुने बताएकी छन् ।
‘हामीले पार्टीलाई ०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने बताउँदै आएका छौं । तर, उहाँले सर्वोच्च अदालतको निर्णयलाई लत्याउँदै बैठक बोलाउनु भएको छ । उक्त बैठकमा हामी जाने कुरा हुदैन,’ उनले भनिन् ।
नेतृ शाक्यले सर्वोच्चले २० औं महाधिवेशन आयोजक कमिटीलाई अमान्य घोषित गरेको अवस्थामा त्यसलाई निरन्तरता दिनु एकताविरोधी कार्य भएको बताइन् ।
उनले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको आदेशलाई नमानेको भन्दै यस्ता कार्यले एकताको वातावरण बिगार्ने बताइन् ।
संस्थापन पक्षले सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको बताएको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले महाधिवेशन आयोजक कमिटीका विषयमा सर्वोच्च अदालतको जेठ २७ गते आएको फैसला त्रुटिपूर्ण भएको बताए ।
उनले अदालतले कानुनभन्दा बाहिर गएर फैसला गरेको र आयोजक कमिटी बैठकले अनुशासन उल्लंघन गरेका नेताहरुलाई कारबाहीको विषयमा निर्णय गर्न सक्ने बताए ।




प्रतिक्रिया