माधव नेपालको लाइन– सांसद पद गए जाओस् तर, हस्ताक्षर फिर्ता नलिने

माधव नेपालको लाइन– सांसद पद गए जाओस् तर, हस्ताक्षर फिर्ता नलिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता नलिने अडान दोहार्याएका छन् ।

नेकपा एमालेको केन्द्रिय कमिटी बैठकले हस्ताक्षर फिर्ता लिन आज साँझ ५ बजेसम्मको समय दिएको छ । तर नेता नेपालले अडान नछाडेपछि एकताको सम्भावना लगभग टरिसकेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको समयभित्र हस्ताक्षर फिर्ता नलिए पार्टीबाट निश्काशन गर्ने शंकेत गरिसकेका छन् । तर माधव नेपाल भने पद गएपनि हस्ताक्षर फिर्ता नलिने अडानमा छन् । यो बिषय सर्वोच्चमा गइसकेकाले अदालतले किनारा नलगाउदासम्म कुनै कदम नचाल्ने नेता नेपालले जिकिर छ । नेपाल पक्षले ओली समृहको केन्द्रिय कमिटी बैठकले गरेको निर्णयलाई अवैधानिक भनेको छ ।

‘२०७५ जेठ २ को अवस्थामा फर्किएर कमिटीका बैठक बस्नुपर्यो । ०७७ फागुन २८ गते बसेको बैठकका निर्णय हामीलाई मान्य छैन् । सांसद पद गए जाओस् तर, हस्ताक्षर फिर्ता हुँदैन,’ नेता नेपालको भनाई उद्धृत गर्दै उनी निकट एक नेताले भने ।

यता निरन्तर पार्टी एकताको पक्षमा लागेका र एकता कार्यदलमा रहेका नेता गोकर्ण विष्टले दुवै नेताको अडानका कारण पार्टीमा संकट उत्पन्न भएको बताए । पार्टीभित्र एकताको प्रयास भइरदा दुवै पक्ष अगाडी बढ्न नहुने भन्दै आफूहरुले सुझाएको उनको भनाई छ ।

गत शुक्रबार आफूहरु बालुवाटार पुगेर अहिले तत्कालका लागि बैठक स्थगित गर्न आग्रह गरेपनि कार्यान्वयन नभएको उनको भनाइ छ ।

‘बैठकलाई स्थगित गर्नूस् अध्यक्ष कमरेड । एक दुई दिनभित्र सहमति हुन्छ भनेका थियौं । अध्यक्ष र माधव नेपालबीच छलफलमा बसेर पार्टीका विवाद हल गरौं,’ उनले भने, ‘बढीमा एक दुई दिनभित्र पार्टी एकता सम्भव हुन सक्छ भनेर हामी बालुवाटार गएर अनुरोध गरेका थियौं । व्यक्तिगत टकराव र इगो देखा परेको छ । दुवै पक्षको इगो एकताका लागि बाधक बनिरहेका छन् ।’

पूर्वमन्त्रीसमेत रहेका नेता विष्टले एकताको पहल अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्री ओलीले एकलौटी बैठक राखेर निर्णय गर्दा समस्या उत्पन्न भएको बताएका छन् ।

‘हामीले अन्तिम तहमा पुर्याएका थियौं । एक पक्षीय बैठक बसेर भएका निर्णयले शंका उत्पन्न भएका छन् । सर्वोच्च अदालतमा परेको मुद्दामा अध्यक्षबाट फिर्ता लिन निर्देशन आएको छ । सर्वोच्चको फैसलापछि जे भए पनि उक भएर जाउँ भन्ने विषयमा छलफल भएको छ,’ उनले भने, ‘दुवै तर्फका आफ्ना अडान आए पनि पार्टीमा मेलमिलापको वातावरण निर्माण गर्नुछ । हस्ताक्षर फिर्ता हुने कुरा सम्भव छैन् । जसले हस्ताक्षर गर्नुभएको छ । उहाँहरुले फिर्ता नलिने बताउनु भएको छ । अन्य बाँकी कुराहरुमा सहमति भएको छ । एमाले विभाजन चाहने शक्तिहरु अहिले पनि सक्रिय छन् ।’

माैखिक हस्ताक्षर फिर्ता लिन नेपाललाई किन समस्या ?

नेकपा एमालेले विपक्षी दलका प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर मौखिक रुपमा फिर्ता लिन आग्रह गरेको छ । अदालतमा कानूनी प्रक्रिया अगाडि बढेकाले लिखित रुपमा हस्ताक्षर फिर्ता लिन सम्भव नभएकाले पार्टी एकताका लागि मौखिम रुपमा फिर्ता लिएर पार्टीका नियमित बैठकमा सहभागी हुन प्रधानमन्त्री पटक–पटक आग्रह गर्दै आएका छन् । तर, नेता नेपालले मौखिम रुपमा हस्ताक्षर फिर्ता लिन पनि अस्वीकार गरेको एमालेका एक केन्द्रीय कमिटी सदस्यले जानकारी दिए ।

‘सर्वोच्चको फैसला जे आए पनि मिलेर जाउँ । संसद पुनःस्थापना भए पनि ठिक छ । नभए पनि एक भएर जाउँ । माधव नेपालजीले एमालेको निर्णय मान्छौं भनेर आउनुपर्यो,’ एमालेका ती नेताले भने, ‘पार्टीले अदालतमा गइसकेको हस्ताक्षर लिखित रुपमा फिर्ता लिन मिल्दैन त्यसैले मौखिम रुपमा हामीले हस्ताक्षर फिर्ता लियौं भनेमात्रै पुग्छ भनेको छ । तर, उहाँले त्यति सम्म पनि गर्नुभएन ।’

माधव नेपालका पछिल्ला गतिविधि नियाल्दा पार्टी एकता सम्भव नभएको संस्थापन पक्षका एक नेताले जानकारी दिए । नेपाल समूहले बैठक स्थगित गर्न भनेपनि त्यो सम्भव नरहेको उनको भनाई छ ।

‘यही अवस्थामा पार्टी एकता सम्भव छैन् । उहाँहरु बैठक स्थगित गर्नुस् भन्नुहुन्छ तर, के आधारमा बैठक स्थगित गर्ने ? शुक्रबार पनि प्रधानमन्त्रीज्यूले भेट्न आग्रह गर्दा अस्वीकार गरेर प्रचण्डसँग पुग्नुभएछ ।’

शुक्रबार सभामुख अग्नि सापकोटाको निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीच तीन घण्टा छलफल भएको स्रोतको दाबी छ । भेटमा नेता नेपालले प्रचण्डलाई प्रधानमन्त्री अ‍ोलीसँग भएको फोनवार्ता ब्रिफिङ गरेका थिए ।

नेता नेपालले प्रधानमन्त्री ओलीसँग चित्त दुखाएकाले भेट गर्न अस्वीकार गरेको एमालेका नेताहरु स्वीकार गर्छन् । सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले र माओवादी केन्द्र व्यूँताएपछि एमालेको पहिलो केन्द्रीय कमिटीको बैठक चैत १ गतेका लागि आह्वान गरिएको थियो । तर, प्रधानमन्त्री ओलीले फागुन २८ गते नै आफू पक्षका नेताहरुको बैठक राखेर भटाभट निर्णय गरेका थिए । उक्त विषय नै माधव नेपालका लागि चित्त दुख्ने कारक भएको ती नेताको भनाई छ ।

‘प्रधानमन्त्रीज्यूले पनि आत्मआलोचनासहित सामूहिक बैठक बोलाउनुपथ्र्यों । तर, एकलौटी निर्णय गरेर उहाँले पनि गल्ती गर्नुभएकै हो,’ ओली निकट ती नेताले भने ।