राष्ट्रपतिको निर्णय कुर्दै नेपाल समूह, आजै दल दर्ताको तयारी

राष्ट्रपतिको निर्णय कुर्दै नेपाल समूह, आजै दल दर्ताको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह नयाँ पार्टी दर्ताको अन्तिम तयारीमा जुटेको छ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै नेपाल समूहलाई नयाँ दल दर्ता गर्न सहज भएको हो ।

सरकारले पठाएको दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएलगत्तै नयाँ दल दर्ता गर्ने नेपाल समूहको तयारी छ  । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश जारी गरे आज नै नयाँ पार्टी दर्ता गर्ने माधव नेपाल पक्षका नेता मेटमणी चौधरीले जानकारी दिए ।

उनले भने, ‘हामीले सबै काम पुरा गरेका छौँ । केपी ओली सुध्रने कुनै संकेत नदेखेपछि हामी अगाडी बढेका हौँ । अब राष्ट्रपतिलाई पर्खिरहेका छौँ । राष्ट्रपतिले आजनै अध्यादेश जारी गर्नुभयो भने आज नै हामी निर्वाचन आयोग पुगेर दर्ता गराउछौँ ।’

२० प्रतिशत सदस्यले पार्टी विभाजन गर्न सक्ने गरी कानुन जारी भएमा ४१ सदस्यको पनि पर्याप्त हुनेछ । आफूहरुसँग ४० प्रतिशत बढी सांसद रहेको नेपाल समूहको दाबी छ । नेपाल समूहले यसअघि नै सबै जिल्लामा जिल्ला कमिटी, जनवर्गीय संगठनमा समानान्तर कमिटी बनाएको छ  । यसअघि जिल्ला कमिटीमा नेपाल पक्षका ४० अध्यक्ष थिए । तर पछि केही नेता घटेर करिब ३५ मात्रै रहेको नेताहरूको भनाइ छ ।

चुनाव चिन्हबारे विकल्पहरु तयार

पार्टी विभाजनको संघारमा रहेका बेला नेकपा एमालेको नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टीको सम्भावित नाम र चुनाव चिन्हबारे विकल्पहरु तयार गरेका छन् ।

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी एमाले (क्रान्तिकारी) वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी  राख्ने प्रस्ताव आएको एक नेताले बताए । चुनाव चिह्न ताराभित्र हँसिया हथौडा, कलश, दियो, पुस्तकमध्ये एउटा राख्ने बताइएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले दल विभाजन सहज हुने व्यवस्थासहितको अध्यादेश पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ । यो अध्यादेशले माधव नेपाल पक्षलाई थप सहज बनाइदिएको छ ।