मन्त्रिमण्डल विस्तारको गाँठो फुकाउन माधव नेपालको नयाँ पार्टीलाई आजै प्रमाणपत्र दिने तयारी

मन्त्रिमण्डल विस्तारको गाँठो फुकाउन माधव नेपालको नयाँ पार्टीलाई आजै प्रमाणपत्र दिने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले माधव नेपालको नयाँ पार्टीलाई आजै प्रमाणपत्र दिने तयारी गरेको छ ।

माधव नेपालका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेका बेला सत्ता गठबन्धनको दबाबका कारण आजै प्रमाणपत्र दिने तयारी भएको स्रोतले जानकारी दियो । आज प्रमाणपत्र नदिए लगातार तीन दिन बिदा रहेकाले मन्त्रिमण्डल विस्तारमा ढिलाई हुने भएपछि आयोगले हतारो गरेको हो ।

‘भोली शनिबार त्यसपछि दुई दिन सार्वजनिक बिदा छ । त्यसैले आजै प्रमाणपत्र दिने तयारी छ,’ आयोगका एक पदाधिकारीले भने ।

नेता नेपालले यसअघि नेकपा एमाले (समाजवादी) नाम राखेका थिए । तर, राजनीतिक दल सम्बन्धी ऐनमा अन्य पार्टीसँग मिल्दोजुल्दो नाम राख्न नपाइने व्यवस्थाका कारण नयाँ नाममा पार्टी दर्ता भएको स्रोतले जानकारी दियो । नेपाल पक्षले ‘नेकपा एकिकृत समाजवादी’ नाममा पार्टी दर्ता गरेको छ ।

गत असार २९ गते प्रधानमन्त्रीको शपथ लिएको शेरबहादुर देउवाले ३५ दिन बितिसक्दा पनि मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । माधव नेपाललाई सरकारमा सहभागी गराउनका लागि सत्ता गठबन्धनले मन्त्रिमण्डललाई पूर्णता दिन आलटाल गरेका हुन् ।