काठमाण्डु – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अन्तर्संघर्ष चर्किंदा बहुमतको आडमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेका थिए ।
तर कारवाहीको निर्णय लागू हुन सकेन, कारवाहीको निर्णय अभिलेखीकरण गराउन निर्वाचन आयोगसँग नेताहरूको संघर्ष चलिरहेका बेला सर्वाेच्च अदालतले एक फैसलाले नेकपा एमाले ब्यूँतियो । माधवकुमार नेपाल जसको आडमा शक्तिशाली देखिएको थिए, त्यो नेकपा माओवादी केन्द्र छुट्टै पार्टी बन्यो । प्रचण्ड र माधवकुमार नेपालको बाटो छुट्टाछुट्टै भयो ।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडाबाट बिदा हुँदै ओलीविरुद्ध पार्टीभित्रै संघर्ष गर्ने उद्घोष गरेका नेता नेपाल अब एक्लिँदै गएका छन् । समानान्तर कमिटी गठनको अभ्यास गरेर पार्टीका छलफल र बैठक बहिष्कार गर्दै गइरहेपछि नेता नेपाल पक्षका सांसदहरू ओली पक्षतिर लाग्न थालेका छन् ।
शनिबार नेपाल पक्षका प्रभावशाली सांसद कृष्णभक्त पोखरेल ओली पक्षमा लागे । नेपाल पक्षले शनिबार बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा सहभागी नहुने निर्णय लिएका बेला पोखरेल निर्धक्क बैठकमा सहभागी भए । वरिष्ठ नेता झलनाथ खनाल र नेपालले पार्टी फुटाउन लागेकाले आफू मूलधारमा फर्किएको उनले स्पष्ट पारे ।
‘माधव पक्षको बैठकमा मैले कि हामीले नयाँ संसदीय दलको नेता बनाउँदैछौं भनेर रोक्नुप¥यो, होइन भने लगातार ३ पटक बैठकमा नजाने आधार के हुन् भनेर प्रश्न गरें,’ उनले सम्झिए, ‘हामीले भनौं, केपी ओलीलाई संसदीय दलको नेताबाट फाल्न सक्छौं ? फाल्ने हाम्रो योजना छ ? छैन भने अरु ढंगबाट कोठे बैठक बस्न हुँदैन बनें ।’
नेता पोखरेलले आफू एमालेको मूलधारमा फर्किएको बताए । ‘छुट्टै दलको बैठक बस्नुपर्ने कुरा सकियो, म अब मूलधारमा लागें, यसबीचमा कहीँ कतै गल्ती भएको भए माफ पाऊँ । अब समृद्ध नेपाल बनाउन केपी ओलीको अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु,’ पोखरेलले शनिबारको संसदीय दलको बैठकमा भने ।
पोखरेल एमालेका सामान्य सांसद मात्रै होइन, नेपाली राजनीति र कम्युनिस्ट आन्दोलनका लागि रणनीतिक जिल्ला रहेको चितवन एमालेका अध्यक्ष समेत हुन् । गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै राष्ट्रपतिबाट चुनावको घोषणा भएपछि पोखरेल सरकारविरुद्ध सर्वाेच्च अदालतसम्म पुगेका छन् । खनाल–नेपाल पक्षबाट कानूनी लडाइँ लड्न पोखरेल अग्रमोर्चामा थिए । तर अब उनले नेपाल पक्ष छाडेका छन् ।
गत बुधबार र बिहीबार काठमाण्डुमा राष्ट्रिय कार्यकर्ता भेला गरेको खनाल–नेपाल पक्षप्रति विकर्षण बढ्दै गएको उदाहरण नेता पोखरेल बनेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत गतिविधि नगर्न र पार्टीका बैठक र छलफलमा सहभागी भएर कुरा राख्न आग्रह गर्दै आएका छन् । यसबीच नेपालसहित नेताहरूसँग ओलीले सामूहिक छलफल समेत गरे तर कुनै सहमति जुट्न सकेन । अध्यक्ष ओलीले पार्टी बैठक गर्दै निर्णय गरी नै रहेका छन् भने नेपाल पक्षले गुटगत भेला गर्न छाडेको छैन ।
शनिबार काठमाडौंमा खनाल–नेपाल पक्षले युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला गरेको छ । भेलालाई सम्बोधन गर्दै नेता नेपालले ४८–४९ वर्षको ओलीसँगको माया–पिरती एक रातमै नसकिने स्पष्टीकरण दिए ।
‘हामी सँगै जाने पक्षमा छौं । केपी ओलीसँग छुट्टिने पक्षमा छैनौं । त्यत्रो लामो समयको माया–पिरती कहाँ एक रातमा सकिन्छ । केपी ओलीसँगको मेरो माया–पिरती ४८–४९ वर्षको भइसक्यो थाहा छ ?’ नेपालले भने ।
एमाले संस्थापन ओली पक्षले भने नेपाल पक्षका समानान्तर गतिविधिलाई पार्टी फुटको अभ्यासको रूपमा बुझेको छ । शनिबार बसेको संसदीय दलको बैठकले अध्यक्ष तथा दलका नेता ओलीलाई बलियो बनाउँदै गुटगत गतिविधि गरिरहेका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बैठकले नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रामकुमारी झाँक्रीलाई पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइल्याउने तथा सरकारको बदनाम गराउन गुटगत भेला गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधेको छ ।
स्पष्टीकरण सोध्ने मात्रै होइन, अध्यक्ष ओलीले कारवाही नै गर्ने तयारी गरेका छन् । शनिबारको बैठकमा ओलीले भने, ‘ छुट्टै भेला गरिरहेका अगुवाकर्ताहरूलाई कारबाही गरेर जानुको विकल्प छैन । त्यसका लागि विधि र पद्धति बनाउने आधार तयार गर्दैछौं । भोलि विधि पुगेन भनेर विरोध नहोस् भनेर हामी सचेत छौं । पार्टीभित्र गुटगत काम गर्नेलाई कारवाही हुन्छ । उहाँहरूका गतिविधि कारवाहीका भागिदार हुनुहुन्छ ।’




प्रतिक्रिया