सनाखतका लागि बहुमत जुटाउन माधव नेपालसहितका नेताहरु चन्द्रागिरी रिसोर्ट पुगे

सनाखतका लागि बहुमत जुटाउन माधव नेपालसहितका नेताहरु चन्द्रागिरी रिसोर्ट पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितको टोली चन्द्रागिरी पुगेकाे छ ।

निर्वाचन आयोगले भदौ ९ गते सनाखतका लागि बोलाएका बेला नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष नेपालसहित ३१/३२ जनाको समूह चन्द्रागिरी हिल्स रिसोर्टमा पुगेका हुन् ।

बैठकमा सहभागी एक नेताकाअनुसार नयाँ पार्टीको दस्तावेजका विषयमा छलफल गर्न नेताहरुको समूह चन्द्रागिरी पुगेको हो । साथै आयोगले सनाखतका लागि बोलाएकाले माधव नेपालले आफ्नो पक्षमा बहुमत जुटाउनका लागि कसरत गरेका हुन् ।

उनले पार्टी विभाजनमा तटस्थ बसेका आफू पक्षका नेताहरुलाई नयाँ पार्टीमा ल्याउनका लागि कसरत थालेका छन् । एमालेमा हुँदा नेपाल समूहमा रहेका भीम रावल, घनश्याम भुसालसहितका प्रभावशाली नेताहरु नयाँ पार्टीमा नजाने भन्दै तटस्थ बसेका थिए ।

‘नयाँ पार्टीको दस्तावेजका विषयमा छलफल गर्न हामी केहीबेरअघि पुगेका हौं,’ ती नेताले काठमाण्डुपाटीसँग भने, ‘आज हामी यतै बस्छौं । साथीहरुबीच छलफल हुन्छ । आयोगले सनाखतका लागि बोलाएकाले उक्त विषयमासमेत छलफल गर्न सबै जना भेला भएका हौं ।’

सांसदद्वय प्रेम आले र किसान श्रेष्ठको अगुवाईमा नेताहरु चन्द्रागिरी पुगेको स्रोतले जानकारी दियो । केहीदिअगाडि निर्वाचन आयोगमा नेकपा एमालेबाट विभाजन भएर नयाँ पार्टी दर्ता गरेको नेपाल समूह पार्टी निर्माण र संगठन विस्तारलगायतका काममा जुटेको छ ।

आयोगले नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाललाई सनाखतका लागि भदौ ९ गते बोलाएको हो ।

प्रस्तावित नेकपा एकीकृत समाजवादीमा नेपाल अध्यक्ष र वरिष्ठ नेतामा झलनाथ खनालसहित ११५ जना केन्द्रीय सदस्य छन् ।