नेपाल समूहले एमालेको निर्णय नमान्ने, देउवालाई विश्वासको मत दिने

नेपाल समूहले एमालेको निर्णय नमान्ने, देउवालाई विश्वासको मत दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको माधव नेपाल समूहले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

मंगलबार राती प्रधानमन्त्रीको शपथ लिएका देउवालाई विश्वासको मत दिने नेपाल समूहले निर्णय गरेको हो । नेपाल पक्षका सांसद मेटमणी चौधरीले देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेकाले संसदमा विश्वासको मत दिने जानकारी दिए ।

‘सरकार बनाउन चाँही सहयोग गर्ने सरकार टिकाउन मत नदिने भन्ने हुँदैन् । मत दिएनौं भने चुनाव हुन्छ । चुनाव भयो भने केपी ओलीले जुन असंवैधानिक काम गरेका छन् त्यो जस्टिफाइ हुन्छ’, उनले भने, ‘देउवालाई प्रधानमन्त्री बनाउने कुरामा हाम्रो भूमिका रह्यो । अब उनलाई पूरै अवधि टिकाउनका लागि मत दिन तयार छौं । हामी उहाँलाई २३ जना भन्दा बढी सांसदको संख्या थपेर मत दिन्छौं ।’

सांसद चौधरीले असार २८ गते सर्वोच्च अदालतले दलका सांसदलाई ह्वीप नलाग्ने आदेश जारी गरेसँगै आफूहरु स्वतन्त्र रहेको बताए । उनले केपी शर्मा ओली जस्तो सन्की मानिस फेरी नजन्मिउन भनेर देउवालाई नै विश्वासको मत दिने स्पष्ट पारे ।

‘संविधानको धारा ७६ को (५) अनुसार दलको ह्वीप नलाग्ने प्रावधान रहेको छ । सर्वोच्चको त्यही अनुसार निर्देशन दिएको छ । संसद पूरै अवधि चलोस् । केपी ओली जस्तो सन्की मान्छेहरु फेरी नजन्मिउन भनेर संसदलाई पूरै अवधि चलाउन खोजेका छौं’, सांसद चौधरीले भने ।

प्रधानमन्त्री देउवाले नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको छ । प्रधानमन्त्री देउवाले विश्वासको मत लिने मिति घोषणा नगरेपनि नेपाल समूहले पक्षमा मतदान गर्ने निर्णय गरिसकेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधी निर्वाचनको घोषणा गरेकी थिइन् ।

एमालेको माधव नेपाल समूह, विपक्षी दल माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपां उपेन्द्र यादव पक्ष मिलेर कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।