काठमाण्डु –फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा देश जुटिरहँदा मधेश प्रदेशको राजनीतिक माहोल चुलिएको छ। यस निर्वाचनमा मधेश निर्णायक बन्ने देखिएपछि राजनीतिक दल तथा नेताहरूको ध्यान मधेशतर्फ केन्द्रित भएको छ।
पहिले सामान्य रूपमा हेरिँदै आएको मधेश पहिलो संविधानसभा निर्वाचनपछि हरेक निर्वाचनमा राष्ट्रिय राजनीतिकै ‘किङमेकर’ बन्दै आएको छ ।
राजनीतिको सम्भावनायुक्त क्षेत्रका रूपमा उर्वर मानिएको मधेशको राजनीतिको छाया आगामी निर्वाचनमा पनि प्रकट हुने धारणा विश्लेषकहरूको छ ।
आठ जिल्लामा समेटिएको मधेश प्रदेशमा १६५ प्रत्यक्ष सिटमध्ये ३२ निर्वाचन क्षेत्र छन् र देशका करिब २० प्रतिशत मतदाता (लगभग ३६ लाख ३६ हजार ४१४) यही प्रदेशमा बसोबास गर्छन् । यसपटक देशभर ३,४८४ जना उम्मेदवारले मनोनयन दर्ता गराउँदा ३० प्रतिशत मधेशबाटै प्रतिस्पर्धामा उत्रिएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार मधेशको बढ्दो महत्त्व यसको जनसंख्या वृद्धि र मधेशकेन्द्रित दलहरूले जनताको भावना जित्न नसक्नुसँग जोडिएको छ ।
मधेशकेन्द्रित राजनीतिक दलहरूको भित्रको आन्तरिक कलह र २०७२ पछिका संवैधानिक घटनाक्रमले उनीहरूको प्रभाव कमजोर बनाएको छ । त्यस कारण यस पटकको निर्वाचनमा राष्ट्रिय दलका नेता र नयाँ शक्तिहरूका लागि मधेशलाई आकर्षक क्षेत्र बनाएको विश्लेषण गरिएको छ ।
मधेशमा आधारित आठ प्रमुख दलहरूले पनि प्रदेशभर उम्मेदवार उतारेका छन् । तीमध्ये सीके राउतको जनमत पार्टी, उपेन्द्र यादवको जनता समाजवादी पार्टी, मोहम्मद रिजवान अन्सारीको संघीय समाजवादी पार्टी, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी, प्रभु साहको आम जनता पार्टी, सामिम मियाँ अन्सारीको राष्ट्रिय निर्माण पार्टी र सुरेन्द्र खड्काको समुन्नत नेपाल पार्टी छन् ।
विश्लेषकहरूका अनुसार २०६३को पहिलो मधेश आन्दोलनपछि आशाको किरणका रूपमा हेरिएका मधेश केन्द्रित दलहरूमा भएको आन्तरिक विभाजनले जनविश्वास गुम्दै गएको छ ।
मधेशकेन्द्रित दलहरूको प्रभाव कमजोर बन्दै जाँदा ठूला राजनीतिक दलका नेता र नयाँ शक्तिहरूले प्रदेशमा आफ्नो स्थान बलियो बनाउन लागेका छन् ।
उनीहरू यसपटकको निर्वाचनमा चुनावी अभियान पनि तीव्र पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश राजधानी जनकपुरबाटै चुनावी अभियान सुरु गरेको छ । पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा घोषणा गरिएका बालेन शाह सहभागी भएर रास्वपाले मधेशमा आफ्नो उपस्थिति देखाएको छ । जबकी गत २०७९को निर्वाचनमा रास्वपाले मधेशलाई महत्व दिएको थिएन ।
काठमाण्डु महानगरपालिकाका पूर्व मेयरसमेत रहेका शाहले मैथिली भाषामा भाषण गर्दा भीढ उर्लिएको थियो । राजनीतिक रूपमा शाहको पहिलो आमसभाको सम्बोधन थियो । शाहले आफूलाई ‘मधेशको छोरा’ भएको बताउँदा सहभागी हजारौँलाई उत्साहित बनाएको थियो ।
त्यसैगरी, नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले थापालाई पनि भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै निर्पाचनमा होमिएको छ ।
काठमाण्डु–४ बाट तीनपटक निर्वाचित थापा अहिले मधेशमा पार्टीको प्रभाव पुनःस्थापित गर्न खोजिरहेका छन् ।
चुनावी अभियाको लागि उनी अहिले सर्लाहीमा छ्न भने कांग्रेसले आफ्नो पहिलो चुनावी सभा फागुन ७ गते प्रदेश राजधानी जनकपुरबाटै गर्ने तयारीमा छ ।
थापाले मधेश र त्यहाँका जनतालाई मूलधारको राजनीतिसँग जोड्न नै आफूले मधेशको सर्लाहीबाट उम्मेदवारी दिएको बताउँछन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि मधेशबाटै राजनीति गर्दै आइरहेका छन् ।
यसपटक उनी रौतहट–१ बाट प्रतिस्पर्धामा छन् । यस्तै पूर्व उपप्रधानमन्त्रीहरू विमलेन्द्र निधि धनुषा–३ र नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट चुनाव लडिरहेका छन् ।
मधेशमा बढेको दलहरूको ध्यानले राजनीतिक परिदृश्यमा आएका व्यापक परिवर्तनहरूलाई झल्काउँछ । क्षेत्रीय पहिचान, विकासका मुद्दा र स्थानीय शासन अब चुनावी रणनीतिका केन्द्रमा आएका छन् । जसले मधेश अब परिधिको खेलाडी होइन, राष्ट्रिय राजनीतिलाई परिभाषित गर्ने निर्णायक कारक बनेको संकेत गर्छ ।




प्रतिक्रिया