काठमाण्डु – पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध देशभर प्रदर्शन जारी रहँदा मधेश प्रदेशमा सुरक्षा अवस्था कडा पारिएको छ ।
ओली र लेखक पक्राउ भएपछि उत्पन्न राजनीतिक तरंगलाई ध्यान दिँदै मधेशमा उच्च सतर्कता अपनाइएको छ ।
ओली र लेखकसँगै पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ परेपछि प्रहरी हेड क्वाटरको निर्देशनमा मधेशका प्रहरी हाई अलर्टमा बसेका हुन् ।
प्रहरी स्रोतका अनुसार नवनियुक्त गृहमन्त्री सुधन गुरुङको ‘नयाँ टार्गेट’ एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हुन् ।
उनीहरू दुवैलाई पक्राउ गर्ने समेत आन्तरिक तयारी भइरहेको छ । भुटानी शरणार्थी र सुन तस्करी काण्डमा पूर्वगृहमन्त्रीसमेत रहेका उपाध्यक्ष बादलको संलग्नता रहेको प्रहरीको भनाइ छ ।
यस्तै १८ वर्षअघि रौतहटमा तत्कालीन नेकपा माओवादीसँग भएको भिडन्तमा २७ जना मारिनुका साथै ५३ जना घाइते बनाइएको गौर प्रकरणमा जसपाका अध्यक्ष यादवलाई पक्राउ गर्ने सुरक्षा स्रोतको दाबी छ ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीको सपथ लिए लगतै उत्पन्न राजनीतिक उथलपुथललाई मध्यनजर गरि शनिबारदेखि नै मधेशमा प्रहरी हाइ अलर्टमा रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमार्फत हाई अलर्टमा बस्न सर्कुलर जारी भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी गोविन्द थपलियाले बताए ।
उनका अनुसार पछिल्लो समय देशमा उत्पन्न विकसित अवस्था र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मधेश प्रहरी र मातहतका प्रहरी युनिटहरूलाई हाइ अलर्टमा बस्न भनिएको छ ।प्रहरी मुख्यालयको उक्त निर्देशन पछि अहिले सूक्ष्मरूपमा सबै गतिविधि नियाल्ने काम भइरहेको डीआइजी थपलियाले जनाए ।
थपलियाका अनुसार प्रदेशका ८ वटै जिल्लाका प्रहरी प्रमुखहरूबाट समन्वय गरि प्रहरी खटाउने कार्य चलिरहेको छ । यसका साथै जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा पनि स्थगित गरिएको छ ।
यसबीच मधेश प्रदेश प्रहरी कार्यालयले सीमा क्षेत्र, जिल्ला सदरमुकाम र सम्भावित प्रदर्शन स्थलहरूमा विशेष निगरानी बढाएको छ ।
राजनीतिक दलका गतिविधि, कार्यकर्ता भेला, प्रदर्शन र सम्भावित हिंसात्मक घटनाबारे सूचना संकलन र विश्लेषण गर्न थालिएको छ ।




प्रतिक्रिया