काठमाण्डु-मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले ठूलो आकारको मन्त्रिपरिषद् बनाएपछि जनमत पार्टीले स्पष्टीकरण सोधेको छ ।
पार्टीसँग समन्वय नै नगरी मन्त्रालय बाँडफाँट गरेको र मन्त्रिपरिषदको संख्या पनि ठूलो बनाएको भन्दै जनमतले मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण सोधेको हो ।
सरकारमा जनमतबाट मुख्यमन्त्रीसहित ५, कांग्रेस ६, एमाले ७ र लोसपाबाट २ मन्त्री छन् । मन्त्रिपरिषद् सदस्यको संख्या ठूलाे भएपछि मुख्यमन्त्री सिंहकाे आलाेचना भइरहेको छ ।
जनमत पार्टीका प्रवक्ता डा. शरतसिंह यादवले पार्टीसँग समन्वय नगरी सत्ता साझेदार दलसँग मन्त्रालय बाँडफाँट गरेपनि मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण सोधिएको बताए । यादवले भने,‘यो विषयमा पार्टीको ध्यानाकर्षण भएपछि स्पष्टीकरण सोधिएको छ ।’ पार्टीले परिणाम देखिने गरी जनताको हकहितमा काम गर्न मन्त्रीहरूलाई ध्यानाकर्षण गराए पनि कामभन्दा उद्घाटनजस्ता काममा समय खर्चिएको देखिएको पनि उनले बताए ।
‘पार्टीले दिएका निर्देशनहरू बेवास्ता गरेको, बजेट बनाउने क्रममा माननीयहरूलाई पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिई जनमत पार्टीको छविमा बारम्बार आँच पुर्याएको भन्ने पनि कुरा आएको छ,’ यादवले भने,‘यी विषय पनि स्पष्टीकरणमा समेटिएका छन् ।
यादवले संघमै सानो मन्त्रिपरिषद्को प्रस्ताव गर्ने पार्टीले प्रदेशामा आफ्नो नेतृत्वमा कुसरी जम्बो मन्त्रिपरिषद्को कल्पना गर्ने प्रश्न गरे । ‘त्यसकारण म यहाँ के प्रष्ट पार्न चाहन्छु भने पार्टीले सुरुदेखि नै सानो आकारको मन्त्रिपरिषद् बनाउने चाहना हो । तर गठबन्धन सरकार बनेकाले पार्टीको चाहना अनुसार पूरा गर्न सकेनौँ,’उनले भने ।




प्रतिक्रिया