मधेशले यसपटक फेरि प्रधानमन्त्री बनाउँला ?

मधेशले यसपटक फेरि प्रधानमन्त्री बनाउँला ?

काठमाण्डुले मधेशबाट पटकपटक प्रधानमन्त्री पाएको छ


काठमाण्डु – फागुन २१मा हुने निर्वाचनप्रति जति चासो बढेको छ त्यति नै चासो प्रधानमन्त्री को बन्ला भन्ने विषयमा पनि छ ।

तीन वटा दलले भावी प्रधानमन्त्रीका उम्मेवार नै घोषणा गरेका छन् । नेकपाका संयोजकन पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भावी प्रधानमन्त्रीको दाबेदारको रूपमा घोषणा नगरिएपनि यस दौडमा भने उनी पनि छन् । यदि नेकपाले सरकार बनाउन मौका पायो भने पार्टीबाट प्रचण्ड नै प्रधानमन्त्री हुने निश्चित छ ।

तर यसपटक दलहरू चुनावी मैदानमा होमिदा भावी प्रधानमन्त्रीका उम्मेदवार लिएरै मत मागिरहेका छन् । यस दौडमा नेकपा (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) छन् । यी तीन वटै दलले औपचारिक रूपमै प्रधानमन्त्रीका उम्मेदवार तोकका छन् ।

तर रोचक के छ भने प्रधानमन्त्रीकाे दौडमा रहेका तीनै जना उम्मेदवार मधेशबाटै छन् । यद्यपी एमाले अध्यक्ष ओली झापा–५बाट चुनाव लड्दैछन् । सोही क्षेत्रबाट रास्वपाका वरिष्ठ नेता बालेन शाह पनि छन् । ओली र शाहलाई उनीहरूका पार्टीले प्रधानमन्त्रीका उम्मेदवार तोकेका छन् ।

यस्तै सर्लाही–४बाट कांग्रेस सभापति गगन थापा उम्मेदवार छन् र पार्टीले उनलाइ प्रधानमन्त्रीको उम्मेदवार तोकेको छ । यता, नेकपाका संयोजक प्रचण्ड रुकुम पूर्वबाट चुनाव लडिरहेका छन् ।

प्रधानमन्त्रीका रूपमा घोषणा भएका तीनै नेताहरू ओली, थापा र बालेन मधेशकै निर्वाचन क्षेत्रबाट उम्मेदवार छन् । यसले जो प्रधानमन्त्री बन्छ, ऊ मधेशबाटै निर्वाचित हुने निश्चित जस्तै देखिन्छ । अहिलेसम्मको चुनावी अनुमानअनुसार यी तीन जनामध्ये एक जना प्रधानमन्त्री हुने सम्भावना प्रवल छ ।

राष्ट्रिय मुक्ति पार्टीका महासचिव अनिल महासेठका अनुसार मधेशले यसअघि पनि धेरै प्रधानमन्त्री जन्माइसकेको छ र फागुन २१को निर्वाचनपछि अर्को प्रधानमन्त्री तय गर्ने केन्द्रबिन्दुका रूपमा पुनः पुगेको बताउँछन् ।

जानकारहरूका अनुसार बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र केपी ओली मधेशकै भूमिबाट जितेर प्रधानमन्त्री बनेका हुन् ।

चाखलाग्दो कुरा के छ भने यसपटकको निर्वाचनको माहोल प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चयनजस्तै देखिएको छ । प्रायः सबै ठूला दलहरूले आफ्ना प्रधानमन्त्री पदका उम्मेदवार घोषणा गरिसकेका छन् र त्यसैअनुसार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

कांग्रेस सभापति थापा हालै विशेष महाधिवेशनमार्फत निर्वाचित भएका हुन् र मधेशका २२ जिल्लामध्ये सबैभन्दा कम साक्षरता दर (३९.५ प्रतिशत) रहेको सर्लाही–४ बाट उम्मेदवारी दिएका छन् ।

मधेशमा ३२ निर्वाचन क्षेत्र र करिब ३६ लाख ३६ हजार मतदाता छन् । त्यहि प्रभावलाई ध्यानमा राख्दै थापाले आफ्नो परम्परागत काठमाण्डु–४ छोडेर सर्लाही–४ रोजेका हुन् ।

सर्लाहीमा थापाले भनेका थिए, ‘नेपाली कांग्रेस मधेशको जेठो छोरा हो र म कांग्रेसका गल्तीका लागि पश्चात्ताप गर्न यहाँ आएको हुँ ।’

रास्वपाले महोत्तरीका बालेन शाहलाई प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा अघि सार्दै झापा–५ उम्मेदवार बनाएको छ । जहाँ उनको तीव्र प्रतिस्पर्धा एमाले अध्यक्ष ओलीसँग हुनेछ । झापा पनि मधेश क्षेत्रमै पर्छ ।

चार पटक प्रधानमन्त्री भइसकेका ओली यस निर्वाचनमा पनि एमालेको प्रधानमन्त्री पदका मुख्य अनुहार हुन् ।

झापा–५को प्रतिस्पर्धामा प्रधानमन्त्री पदका उम्मेदवारमध्ये एक जना पहिलो चरणमै बाहिरिने निश्चित छ । त्यसैले मतदाता, उम्मेदवार, राजनीतिक दल मात्र होइन, अन्तर्राष्ट्रिय शक्ति केन्द्र र सञ्चारमाध्यमसम्म ‘ओली–बालेन’ प्रतिस्पर्धामा चासो देखाइरहेका छन् ।

पूर्वप्रधानमन्त्री पनि रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपाल पनि रौतहट–बाट उम्मेदवार बनेका छन् ।
मधेश झापादेखि कञ्चनपुरसम्म फैलिएका २२ जिल्लालाई समेट्छ । यी जिल्लामा मधेशी र थारु समुदायको ठूलो बसोबास छ । इतिहास हेर्दा देशका अधिकांश निर्वाचित प्रधानमन्त्री यिनै जिल्लाबाट आएका छन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापाका हुन् भने वर्तमान प्रधानमन्त्री सुशीला कार्की विराटनगरकी हुन् ।विराटनगरमै १९५१ मा प्रजातन्त्र स्थापनापछि पहिलो प्रधानमन्त्री बनेका मातृकाप्रसाद कोइराला, जननिर्वाचित पहिलो प्रधानमन्त्री बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको जन्मभूमि पनि मधेशमै पर्छ ।

बीपी र गिरिजाप्रसाद दुवै मोरङबाट निर्वाचित भई प्रधानमन्त्री बनेका थिए । कृष्णप्रसाद भट्टराई २०४८ मा पर्साबाट निर्वाचित भई प्रधानमन्त्री बनेका थिए । गिरिजाप्रसाद कोइराला पाँच पटक प्रधानमन्त्री बनेका थिए र हरेक पटक मधेशकै जिल्लाबाट निर्वाचित भए ।

२०१५ मा संविधान जारी हुँदा सुशील कोइराला प्रधानमन्त्री भएका थिए, जो बाँकेबाट निर्वाचित भएका थिए । यो क्षेत्रपनि मधेशमै पर्छ ।

नेकपा संयोजक प्रचण्ड तीन पटक प्रधानमन्त्री बनेका हुन् । जसमा उनी सिराहा र चितवनबाट निर्वाचित भएका थिए ।

पञ्चायतकालमा तुलसी गिरी तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी सिराहाका हुन । २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा उनी पुनः मन्त्रिपरिषद् सहअध्यक्ष (प्रधानमन्त्री सरह) बनेका थिए ।

प्रधानमन्त्री मात्र होइन, गणतन्त्रपछि नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव पनि धनुषाका हुन् । पहिलो उपराष्ट्रपति परमानन्द झा सप्तरीका र वर्तमान उपराष्ट्रपति रामसहाय प्रसाद यादव बाराका हुन् ।

यस निर्वाचनमा मधेशबाट निर्वाचित हुने व्यक्ति नै प्रधानमन्त्री बन्ने सम्भावना बलियो छ । या त बालेन मधेशी समुदायबाट पहिलो प्रधानमन्त्री बन्छन् वा थापा मधेसबाट निर्वाचित प्रधानमन्त्री बन्छन् ।

यदि ओली पाँचौँ पटक प्रधानमन्त्री बने भने पनि उनी मधेशकै जिल्लाको प्रतिनिधित्व गर्नेछन् । जसरी भए पनि नयाँ प्रधानमन्त्री चयनमा मधेशी समुदायको मत निर्णायक हुने देखिन्छ ।