मधेशमा स्थानीय चुनाव असोजमा गर्न लोसपाको प्रस्ताव


काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेशमा असोजमा स्थानीय निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

लोसपाका मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बुधबार एक विज्ञप्ति जारी गर्दै २०७९ असोजमा स्थानीय निर्वाचन गर्न माग गरेका हुन् । उनले सरकारले स्थानीय निर्वाचनको घोषणा गर्नु सकारात्मक रहेको तर बैशाख ३० मा चुनाव भए २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने बताएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘संविधानले स्थानीय जनप्रतिनिधिको पदापधि ५ वर्ष हुन्छ भनेको छ । मधेश प्रदेशका जनप्रतिनिधिको कार्यकाल ५/६ महिना कटौती गर्ने अधिकार कसैलाई छैन, निर्वाचन आयोगलाई पनि छैन ।’

हालको मधेश प्रदेशमा २०७४ साल असोज २ गते स्थानीय तहको निर्वाचन भएको थियो । तर, निर्वाचन आयोगले अघिल्लो पटक तीन चरणमा चुनाव भएको भए पनि स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार सबै जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने बताएको छ ।

सोहीअनुसार सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा बैशाख ३० गते गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement