जनकपुरधाम- मधेस प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गरिएको छ । मधेस सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले जेठ २१ गते सोमबार तेस्रो अधिवेशन आह्वान गरेको हो ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेलद्वारा जारी पत्रमा प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीबाट अधिवेशन आह्वान गरिएको उल्लेख छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ २१ गते सोमबार दिउँसो २ बजेका लागि अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई चार राजनीतिक दलले ध्यानाकर्षण पत्र बुझाएका छन् । एमाले, जनमत, माओवादी केन्द्र र लोसपा नेपालले संयुक्त पत्र लेख्दै ध्यानाकर्षण गराएका हुन् ।
‘वर्तमान सरकार अल्पमतमा रहेकोले दीर्घकालीन असर पर्ने खालको निर्णय नगर्न, नगराउन हुन यो ध्यानाकर्षण पत्र पेश गरेका छौँ’, पत्रमा भनिएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८०÷८१ को स्थानीय तहलाई दिने स–सर्त अनुदान वितरण तथा विभिन्न मन्त्रालयबाट हुने रकमान्तरको सम्बन्धमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ ।
एमाले र माओवादी केन्द्रले वैशाख ३० मा सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।





प्रतिक्रिया