काठमाण्डु – मधेश प्रदेश सरकारको नेतृत्वका लागि दलहरूलाई आह्वान गरेपछि लोसपाको नेतृत्वमा गठबन्धनको सरकार बन्ने भएको छ ।
मंगलबार मध्यरातसम्म बसेको विभिन्न दलहरूको बैठकले लोसपाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन सहमति गरेको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा राती नै गठबन्धन सकरार बनाउनेबारे सहमति भएको हो । जनमत पार्टी पनि यसमा सहभागी हुने जनाइएको छ ।
नयाँ गठबन्धनमा लोसपा, जसपा नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी सहभागी रहने छन् ।
यो पाँच दलीय गठबन्धनमा ५६ जना सांसद छन् । उनीहरुले बुधबार नै सरकारको नेतृत्वका लागि दाबी पेश गर्ने तयारी गरेका छन् ।
यस अघि नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन एमाले र जनमतसहितको गठबन्धन सहमतिको पत्र प्रदेश प्रमुख कार्यालयमा केही दिन बुझाएको थियो । तर मंगलबार जनमत पार्टी फुटेर जनस्वराज पार्टी अलग भएपछि कांग्रेस नेतृत्वको सरकारको सम्भावना टरेको हो ।
सरकारको नेतृत्वका लागि बुधबार अपरान्ह ४ बजेसम्म दाबी पेस गर्न समय तोकिएको छ ।




प्रतिक्रिया