मधेश प्रदेशसभा सभामुखमा २ जनाको उम्मेदवारी दर्ता

मधेश प्रदेशसभा सभामुखमा २ जनाको उम्मेदवारी दर्ता


जनकपुरधाम – मधेश प्रदेश सभाको सभामुखमा २ जना सांसदले उम्मेदवारी दिएका छन् ।

सत्तारुढ ७ दलीय गठबन्धनको तर्फबाट जसपा नेपालका रामअशिष यादव र नेकपा एमालेका त्रिलोकी प्रसादले सभामुखमा उम्मेदवारी दर्ता गराएका प्रदेशसभा सचिवालयका प्रवक्ता विपिन ठाकुरले जानकारी दिए ।

शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको थियो ।

जसपा नेपालको प्रमुख सचेतक समेत रहेका यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका फकिरा महतो समर्थक रहेका छन् ।

सभामुखमा उम्मेदवारी दर्ताअघि बसेको ७ दलीय गठबन्धनको बैठकले यादवलाई सर्वसम्मत रूपमा साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

अर्का उम्मेदवार त्रिलोकी प्रसादको उम्मेदवारीमा एमालेकी प्रदेशसभा सदस्य शारदादेवी थापा प्रस्तावक र जयचन्द्रप्रसाद पटेल समर्थक रहेका छन् । सभामुखका लागि उम्मेदवारी दर्ताअघि बसेको एमाले संसदीय दलको बैठकले त्रिलोकी प्रसादलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सभामुखका लागि आईतबार निर्वाचन हुने कार्यतालिका छ ।