मधेश प्रदेशमा बहुसूचक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सार्वजनिक

मधेश प्रदेशमा बहुसूचक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – प्रदेश नीति तथा योजना आयोग मधेश प्रदेशकी सदस्य डा. शिला मिश्रले मधेश प्रदेशका लागि निकै अर्थपूर्ण रहेको बताएकी छन् ।

जनकपुरधाममा बुधबार राष्ट्रिय तथ्यांक कार्यालयको आयोजनामा भएको तथ्यांकमा आधारित नीति, योजना तर्जुमा तथा कार्यक्रमको लागि प्रदेशस्तरीय नतिजा सार्वजनिक अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्य डा. मिश्रले नेपाल बहुसूचक सर्वेक्षणले मधेशको वास्तविक अवस्था र समस्या पहिचान गरी अल्पकालीन तथा दीर्घकालीन नीति निर्माणका लागि अपरिहार्य रहेको बताइन् ।

उनले शिक्षा, स्वास्थ्य, गाँस, बाँस कपास, रोजगार, बालबालिका लगायतका हरेक सूचकहरुसमेत रहेकाले यसको अध्ययन गरी नीति निर्माणका लागि यस सर्वेक्षणले सकारात्मक भूमिका निर्वाह गर्ने बताइन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशका मुख्यसचिव कायममुकायम प्रमुख सचिव कमलप्रसाद भट्टराईले नेपाल बहुसूचक सर्वेक्षणले गरेको मधेश प्रदेशबारेको अध्ययन तथा सर्वेक्षणको तथ्यांकबाट यहाँको महिला तथा बालबालिकाको अवस्था र यसको प्रगतिका लागि गर्नुपर्ने कामकारबाहीबारे कोशेढुंगा रहेको टिप्पणी गरे । उनले सर्वेक्षणले नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीय स्तरमा अनुगमन तथा मूल्यांकन गर्नुका साथै नीति निर्माण, योजना तर्जुमा तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक तथ्यांक उपलब्ध गराउन सहयोग गर्ने बताए ।

नेपाल बहुसूचक सर्वेक्षणबारे कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता समेत रहेका उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले सर्वेक्षणमा शिक्षा, मातृ तथा नवजात शिशु स्वास्थ्य, खानेपानी तथा सरसफाइ, सुरक्षा, विभेद, मानसिक स्वास्थ्य लगायत सामाजिक क्षेत्रका विविध सूचकहरू समेटिएका जानकारी दिए ।

प्रतिवेदनमा राष्ट्रिय स्तरका साथै सातै प्रदेश, शहरी तथा ग्रामीण क्षेत्र तथा काठमाण्डु उपत्यकाको खण्डीकृत तथ्यांक समेत समावेश गरिएको उनको भनाइ छ ।

सर्वेक्षणअन्तर्गत देशभरका घरपरिवारबाट विस्तृत विवरण संकलन गरिएको छ । जसमा प्रत्येक घरपरिवारमा रहेका १५–४९ वर्ष उमेर समूहका महिला तथा पुरुष, ५ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा ५ वर्षमुनिका बालबालिकासम्बन्धी तथ्यांक समेटिएको छ । साथै बालबालिकाको पोषण अवस्थाको मूल्यांकनका लागि तौल तथा उचाइ मापन समेत गरिएको थियो ।

सर्वेक्षणको एक महत्वपूर्ण पक्षका रूपमा पहिलो पटक १५–२४ वर्ष उमेर समूहका किशोरकिशोरीहरूको मानसिक स्वास्थ्यसम्बन्धी विवरण पनि संकलन गरिएको छ । यसले युवाहरूको मानसिक अवस्थाबारे नीतिगत निर्णय लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

छनोट गरिएका घरपरिवारमा प्रयोग हुने पिउने पानीको गुणस्तर परीक्षणसमेत गरिएको थियो । पानीमा मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने इकोलाई जीवाणु तथा आर्सेनिकको मात्रा परीक्षण गरिएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा प्रस्तुत गरिएका प्रारम्भिक नतिजाअनुसार बाल मृत्यु, स्वास्थ्य सेवा पहुँच, शिक्षा अवस्था लगायतका विभिन्न सूचकहरूमा सुधार देखिए पनि केही क्षेत्रमा अझै चुनौती कायम रहेको वक्ताहरूले औंल्याइएका थिए ।