वीरगन्ज – आफूलाई विश्वासको मत नआउने देखेपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिरामी परेको बाहाना गरेका छन् । पदमुक्त हुने भयले मुख्यमन्त्री यादवले आज लिने तय भएको विश्वासको मतसम्बन्धी कार्यसूची सार्न सभामुख रामचन्द्र मण्डलसँग आग्रह गरेका छन् ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिन कै लागि प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको छ ।
बैठकबाट विश्वासको मतसम्बन्धी कार्यसूची सारेर जेठ २८ गतेका लागि तोक्न सभामुख मण्डललाई मुख्यमन्त्री यादवले आग्रह गरेका हुन् ।
मुख्यमन्त्री यादवले आफू अस्वस्थ रहेको भन्दै आजको तोकिएको विश्वासको मतको समय सार्न प्रदेश सभाको कार्यालयसँग माग गरेको सभामुख मण्डलले जानकारी दिए ।
सभामुख मण्डलले मुख्यमन्त्री यादवले अहिले भर्खरै प्रदेश सभामा आफू अस्वस्थ रहेको जनाऊ गर्दै पत्र पठाएको जानकारी दिए । ‘पत्रमा आज दिउँसो ३ बजे बस्ने बैठकको कार्यसूचीबाट विश्वासको मतको मिति सार्न माग गरिएको छ,’ उनले भने ।
मुख्यमन्त्री यादवबाट प्राप्त पत्रबारे थप छलफल गरेर निर्णय गरिने सभामुख मण्डलले बताए । उनले परामर्श समिति एवम् दलका नेताहरूसँग छलफल गरेर अब यसबारे टुङ्गो लगाउने जानकारी दिए ।
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवे बुधबार संसदीय दलको बैठकले २८ जेठमा विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराइएको बताए ।
३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण उनले ३० जेठसम्म विश्वासको मत लिनुपर्नेछ ।




प्रतिक्रिया