आज विश्‍वासको मत नलिए मधेशका मुख्यमन्त्री सरोजकुमार यादव रातिदेखि स्वत: पदमुक्त हुने

आज विश्‍वासको मत नलिए मधेशका मुख्यमन्त्री सरोजकुमार यादव रातिदेखि स्वत: पदमुक्त हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत नलिए राति १२ बजेबाट स्वतः पदमुक्त हुने भएका छन् ।

संविधानको धारा १८८ को २ अनुसार मुख्यमन्त्री यादव रातिबाट पदमुक्त हुने भएका हुन् । संविधानको धारा १८८ को २ मा मुख्यमन्त्री आबद्ध रहेको दल विभाजन भएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

मुख्यमन्त्री यादव आबद्ध रहेको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको बुधबार राति १२ बजे ठ्याक्कै ३० दिन पुग्दैछ ।

मुख्यमन्त्री पदमुक्त भएसँगै बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारीमा छन् ।

मुख्यमन्त्री यादवले बुधबार अपराह्न ३ बजे विश्वासको मत लिने तयारी गरे पनि ‘स्वास्थ्य’को कारण देखाउँदै जेठ २८ गते सार्न प्रदेशसभा सचिवालयलाई पत्र लेखेका छन् । मुख्यमन्त्री यादवले लेखेको पत्रबारे सभामुख रामचन्द्र मण्डल भने कानुनी परामर्शमा रहेको उनको सचिवालयले जनाएको छ ।

तर, मुख्यमन्त्री यादवले वैशाख ३० गते एमाले–माओवादीले समर्थन फिर्ता लिएकाले त्यो मितिअनुसार विश्वासको मत लिन जेठ २८ गते समय मागेका हुन् ।

प्रदेश प्रमुख भण्डारीले भने मुख्यमन्त्री यादव आजै राति स्वतः पदमुक्त भएपछि बिहीबार संविधानको धारा १६८ को २ बमोजिक एक वा दुई भन्दा बढी दलको बहुमतमा नयाँ सरकार गठनका लागि आह्वानको तयारीमा रहेको उनका स्वकीय सचिव टिकाराम उप्रेतीले जानकारी दिए ।

मुख्यमन्त्री यादवको दल जसपा नेपालको दल विभाजनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा थाँती छ । जसपा नेपाल विभाजनका सन्दर्भमा सम्पूर्ण प्रक्रियालाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।