मधेस सरकारको नेतृत्व दिने सहमतिपछि जनमतले दियो प्रधानमन्त्रीलाई विश्वासको मत !

मधेस सरकारको नेतृत्व दिने सहमतिपछि जनमतले दियो प्रधानमन्त्रीलाई विश्वासको मत !


काठमाण्डु– वर्तमान सत्ता गठबन्धनले मधेस प्रदेश सरकारको नेतृत्व जनमत पार्टीलाई दिने सहमति गरेको खुलेको छ ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबीच मधेस सरकारको नेतृत्व जनमत पार्टीलाई दिने सहमति भएको निकटस्थ स्रोतले बतायो । तर, यो सहमतिबारे दुवै पक्षका नेताहरूले औपचारिक रूपमा धारणा बाहिर ल्याएका छैनन् ।

निकटस्थ स्रोत भने मधेस सरकारको नेतृत्व आफ्नो पार्टीले पाउने सहमति बनेपछि मात्रै जनमत पार्टीले सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको हो । राष्ट्रिय मान्यता प्राप्त दल जनमतका प्रतिनिधि सभामा ६ सांसद छन् ।

यसअघि प्रचण्ड नेतृत्वको सरकारमा नै सहभागी भएको जनमत पार्टी १७ चैत २०७९ मा सरकारबाट बाहिरिएको थियो । जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान खानेपानीमन्त्री बनेका थिए ।

तर, केन्द्रमा आफूले मागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएको र मधेसमा सरकारको नेतृत्व नभएको भन्दै सरकारबाट बाहिरिएको थियो ।

सोमबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएसँगै जनमत सरकारमा सहभागी हुने सहमति पनि शीर्ष नेताहरूबीच बनेको स्रोत बताउँछ ।

ज्नमतको बटमलाइन मधेसमा सरकारको नेतृत्व थियो । त्यो दिन शीर्ष नेताहरू तयार भएपछि विश्वासको मत दिन र सरकारमा सहभागी हुन जनमत तयार भएको हो ।

जनता समाजवादी पार्टी, नेपाल विभाजित भएपछि केन्द्रमा उपेन्द्र यादव नेतृत्वको सो पार्टीले केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि मधेस प्रदेशमा जसपा नेपालबाट मुख्यमन्त्री बनेका सरोज यादवलाई दिएको समर्थन एमाले र माओवादी केन्द्रले फिर्ता लिएका थिए । दुई पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका छन् ।

मुख्यमन्त्री यादव अल्पमतमा परेपछि केन्द्रमा सत्ता गठबन्धनले जनमतलाई मुख्यमन्त्री दिने सहमति गरेको बाहिरिएको हो ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा १३ सांसदसहित जनमत चौँथो पार्टी छ । मधेस प्रदेशमा एमाले २५ सांसदसहित पहिलो, नेपाली कांग्रेस २२ सांसदसहित दोस्रो र जनता समाजवादी पार्टी नेपाल १९ सांसदसहित तेस्रो पार्टी छन् । तर केन्द्रमा पार्टी विभाजन भएकाले जसपाको कुन पक्षसँग कति सांसद हुने हुन् अझै एकिन भएको छैन ।

त्यस्तै मधेसमा माओवादी र लोकतान्त्रिक समाजवादी पार्टीका ९, ९ सांसद छन् । एकीकृत समाजवादीका ७ सांसद् छन् ।

१०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका एमालेका २५, जनमत १३, माओवादीका ९ र समाजवादी पार्टीका ७ सांसद जोड्दा ५४ सांसद पुग्छन् अर्थात बहुमत पुग्छ ।

अझ केन्द्रमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट फुटेर बनेको अशोक राई नेतृत्वको जसपा केन्द्रमा सत्ता गठबन्धनमा नै रहेकाले उसको पक्षमा एकिन हुने सांसद पनि सत्ता गठबन्धनमा नै हुने निश्चित छ ।