नेपालको आधिकारिक नक्सा मधेस सरकारको राजपत्रमा प्रकाशित


जनकपुधाम – मधेस सरकारले प्रदेशको नाम र स्थायी राजधानीबारेको सूचना राजपत्रमा पुन: प्रकाशन गरेको छ । प्रदेशको नाम र स्थायी राजधानी दुई तिहाइ बहुमतले पारित भएपछि प्रदेश राजपत्रमा प्रकाशित गरिएको सूचनामा नेपालको नयाँ नक्सा (चुच्चे सहितको नक्सा) को ठाउँमा पुरानो नक्सा राखिएको थियो । यसरी राजपत्रमानै गल्ती नक्शा प्रकाशन गरिएपछि चर्को आलोचना भएको थियो ।

मधेस सरकारले आइतबार पुनः नेपालको आधिकारिक नक्सा राखेर राजपत्र प्रकाशित गरेको छ । प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले भुलवश हुन गएको प्राविधिक त्रुटी सच्याइएको जानकारी सहित मन्त्रालयले पुनः राजपत्र छापेको जानकारी दिए । झाका अनुसार सबै निकायलाई मधेस प्रदेश नाम कार्यान्वयन गराउन आग्रह गर्दै सरकारले राजपत्रमा प्रकाशित गरेको हो ।

प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ ख को उपनियम (२) बमोजिम प्रदेशको नामकरण तोक्ने प्रस्ताव सोही नियमावलीको अनुसूची ३ (ख) बमोजिम दर्ता भएका प्रस्तावमध्ये प्रदेशको नाम राजपत्रमा प्रकाशित गरिएको बताइएको छ ।

‘प्रस्ताव नम्बर १ मधेस प्रदेश नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भई प्रदेशको नामकरण मधेस प्रदेश कायम भएको व्यहोरा सार्वजनिक लिखित प्रमाणीकरण (कार्यविधि) ऐन, २०७५ को दफा ५ को उपदफा (१) बमोजिम सभामुखबाट प्रमाणीकरण समेत भइसकेकाले सोही ऐनको दफा ५ को उपदफा (२) बमोजिम निर्णय कार्यान्वयनका लागि सूचना प्रकाशित गरिएको छ,’ मधेस प्रदेश सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement