भारत मध्यप्रदेशका मुख्यमन्त्रीले गरे कोरोना खोप नलगाउने घोषणा

भारत मध्यप्रदेशका मुख्यमन्त्रीले गरे कोरोना खोप नलगाउने घोषणा


एजेन्सी – भारत मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले कोरोना भाइरसविरुद्धको खोप नलगाउने घोषणा गरेका छन् । उनले पहिले कोरोना विरुद्धको खोप मध्यप्रदेशमा नागरिकलाई लगाउन दिने भन्दै आफुले तत्काल कोरोना विरुद्धको खोप नलगाउने घोषणा गरेका हुन् ।

‘मध्य प्रदेशका सबै जिल्लाहरू कोविड–१९ खोपका लागि तयार छन् । सबै प्रकारको व्यवस्था गरिएको छ । मैले तत्काल खोप नलगाउने निर्णय गरेको छु । पहिले अरुलाई लगाइनुपर्छ, त्यपछि मेरो पालो आउनुपर्छ,’ उनले भनेका छन् ।

कोरोना भाइरसविरुद्ध भारतको डीसीजीआईले अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर बनाएको कोरोना खोप र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन कोरोना खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ । भारत बायोटेकले विकास गरेको कोरोना खोप ७० दशमलव ४२ प्रतिशत प्रभावकारी देखिएको छ । तर यो खोपको तेस्रो परीक्षण भने गर्न बाँकी छ ।

मुख्यमन्त्रीले यो घोषणा त्यस्तो समयमा गरे, जब विपक्षी दलका नेताले लगातार खोपको बारेमा प्रश्न उठाएका छन् । कांग्रेस नेता शशि थरूर र जयराम रमेशले स्वास्थ्य मन्त्री डा हर्ष वर्धनसँग कोभिसिल्ड र कोभ्याक्सिनको अनुमोदनपछि खोपको आपतकालीन प्रयोगको बारेमा प्रश्न गर्दै जवाफ माग गरेका छन् ।

‘भ्याक्सिन अझै तेस्रो चरणको लागि परीक्षण गरिएको छैन । भारतमा कोरोना भ्यासिनको अनुति समयभन्दा अगाडी नै दिइएको छ, जुन खतरनाक पनि हुन सक्छ,’ नेता शशि थरुरले ट्वीट गर्दै भनेका छन्, ‘यो खोप पूर्ण रुपमा परीक्षण नसकिएसम्म यसको प्रयोगबाट टाढै रहनु पर्छ । डा. हर्षवर्धनले यसबारेमा स्पष्ट पार्नु पर्छ ।’

नेता जयराम रमेशले पनि यस्तै प्रश्न उठाएका छन् । ‘भारत एक बायोटेक प्रथम श्रेणीको उद्यम हो । तर आश्चर्यजनक कुरा यो हो कि अन्तर्राष्ट्रिय रूपमा स्वीकृत प्रोटोकल चरण १ को परीक्षण सम्बन्धी कोभ्याक्सिनका लागि संशोधन गरिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष वर्धनले यसबारे स्पष्ट पार्नु पर्छ,’ उनले भनेका छन् ।