महाशिवरात्रिमा यस्तो छ ट्राफिक व्यवस्थापन

महाशिवरात्रिमा यस्तो छ ट्राफिक व्यवस्थापन

आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- महाशिवरात्रि पर्वका लागि पशुपतिमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको पर्वलाई व्यवस्थित, सुरक्षित र श्रद्धालुमैत्री बनाउन बहुआयामिक योजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।
महाशिवरात्रि पर्व आइतबार मनाइँदैछ ।

कोषका कार्यकारी निर्देशक एवम् प्रवक्ता सुभाष जोशीका अनुसार महाशिवरात्रिका दिन कम्तीमा आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ भने झन्डै चार हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा छ ।

दर्शनार्थीको लागि चार वटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाइएको तथा सुरक्षा, स्वास्थ्य, सरसफाइ र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको कोषले जनाएको छ ।

अरु तयारीसँगै प्रहरीले पनि भिड व्यवस्थापनको योजना बनाएको छ । पशुपति क्षेत्र आसपास गाडी आवागमनमा विशेष व्यवस्थापन गरिनेछ ।

काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले दर्शनार्थीलाई सहज रूपमा आवत–जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापन मिलाएको छ ।

झन्डै आठ लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमानअनुसार पशुपति दर्शन गर्न पुग्नेहरुको गाडीका लागि निश्चित ठाउँमा पार्किङको व्यवस्था गरिएको छ ।

गौशाला क्षेत्र भई चक्रपथमा चल्ने गाडी भिडभाड हेरेर सञ्चालन गर्न नसक्ने अवस्था आए मात्रै गौशाला क्षेत्रमा आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको तयारी छ । चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा गाडी चलाउने व्यवस्था मिलाइएको छ । तर आवागमनमा कुनै समस्या हुने अवस्थामा भने डाईभर्सन गरी वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाउने योजना छ ।

तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक गाडीलाई निषेध गरिएको छ । बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउनेलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।

गौशाला चोकमा भिडभाड धेरै भई गाडी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्नेलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने योजना छ ।