महाभारत जंगलमा हेलिकोप्टरबाट २४ हजार लिटर पानी खन्याइएपनि निभेन आगो

महाभारत जंगलमा हेलिकोप्टरबाट २४ हजार लिटर पानी खन्याइएपनि निभेन आगो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि लागेको आगो नियन्त्रण बाहिर गएपछि शुक्रबार हेलिकप्टरमार्फत निभाउने प्रयास गरिएको छ।

गृह मन्त्रालयमार्फत उपलब्ध भएको सिम्रिक एयरको हेलिकप्टरले बेथानचोक गाउँपालिकाको बस्ती नजिकिएको आगो नियन्त्रण गरेको हो।

खानीखोला गाउँपालिका–१ स्थित थामलेकडाँडास्थित महाभारत जङ्गलमा चार दिनअघि आगलागी सुरु भएको थियो। काभ्रेपलाञ्चोकस्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकार भएका निकायले जनशक्ति परिचालन गर्दा पनि आगो नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले मन्त्रालयमार्फत हेलिकप्टर मगाई निभाउने प्रयास गरेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए।

हेलिकप्टरबाट गरिएको प्रयासले बस्ती नजिकको आगो निभाउन सकिएको हो। आगलागी बिहीबार साँझसम्ममा बेथानचोक–५, ३, १ र २ को सीमाक्षेत्रमा आइपुगेको थियो।

बस्ती नजिकको आगो नियन्त्रणमा आएपनि आगलागी सुरू भएको स्थान र आगो फैलिएका अन्य स्थानमा अझै नियन्त्रण गर्न नसकिएको अधिकारीले जानकारी दिए।

उनका अनुसार हेलिकप्टरले आज २४ पटकमा उक्त क्षेत्रको आगो नियन्त्रणमा ल्याएको हो। यसअघि जिल्ला प्रहरी कार्यालय धुलिखेलले आगलागी नियन्त्रण भन्दा बाहिर गएको जनाउँदै आएको थियो।