आर्थिक विपन्नताका कारण नेपालीहरूले दु:ख पाए : मन्त्री पुन

आर्थिक विपन्नताका कारण नेपालीहरूले दु:ख पाए : मन्त्री पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आर्थिक विपन्नताका कारण नेपालीहरूले दु:ख पाएको बताएका छन् ।

शनिबार काठमाण्डुमा आयोजित कार्यक्रममा उनले आर्थिक विपन्नताले रोजगारी सिर्जना, बाटो, अस्पताल र विद्यालय निर्माण र सञ्चालनमा समस्या आएको भन्दै नेपालीहरूले पनि दु:ख पाएको बताए ।

उनले भने, ‘आर्थिक विपन्नताले गर्दा देश विकास हुँदैन, रोजगारी हुँदैन, बाटोहरू राम्रो बन्दैन, अस्पतालहरू राम्रो बन्दैन, राम्रो सेवा पाइँदैन, विद्यालयहरूलाई सञ्चालन गर्न सकिँदैन । यस्ता धेरै कुराहरू आर्थिक विपन्नताले हुन्छ र यसले गर्दा नै नेपालीहरूले दु:ख पाएको हो । आर्थिक विपन्नतालाई सम्पन्नतामा कसरी परिणत गर्न सक्छौ भन्ने कुरा बुझ्नका लागि इतिहास पनि हेर्नुपर्ने हुन्छ ।’

नेपालमा केही गर्नुपर्‍यो भने पैसा नै छैन भन्ने कुरा आफू शिक्षामन्त्री भएर मन्त्रालयमा जाँदादेखि रहेको र यो समस्या पहिलैदेखि नै विद्यमान रहेको उनले बताए । नेपालमा नेपालीहरूले धेरै दु:ख पाउनुको कारण पनि नेपालीहरू आफैं भएको पनि उनको भनाइ छ ।

उनले भने, ‘नेपालमा नेपालीहरूले धेरै दु:ख पाएका छांै । कुनै–कुनै नेपालीले सुख पाउनु भएको छ होला । तर अधिकांश नेपालीहरूले दु:ख पाएका छन् । त्यसमा हामीले नेपालीकै हात छ । नेपालीकै ढंग नपुगेर दु:ख पाएको हो । व्यक्ति विशेष कुरा होइन, सम्पूर्ण नेपाली समाजको ढंग पुगेन ।’

देशमा खासगरी विज्ञान र प्रविधिको विकास नभएको कारण देशको प्रतिभाहरूले नेपालमा अवसर नपाएर विदेशिन पनि बाध्य भएको पनि उनले बताए । अर्थतन्त्र प्रविधिसँग जोडिएको हुन्छ, प्रविधिको विकास नहुँदा अर्थतन्त्र पनि विकास हुन नसकेको पनि उनको भनाइ छ ।